
धनगढी । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा (साउनदेखि असोजसम्म) एक अर्ब ७९ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार सो अवधिमा भन्सार महसुलतर्फ ६९ करोड ६७ लाख, मूल्य अभिवृद्धि करतर्फ ६८ करोड ९८ लाख, अन्तःशुल्कतर्फ पाँच करोड तीन लाख र अन्य शीर्षकहरूबाट ३५ करोड ५८ लाख रुपैयाँ राजस्व उठाइएको छ ।
तर, कार्यालयले आ–आफ्ना महिनाको लक्ष्य अनुसार राजस्व संकलन गर्न भने सफल हुन सकेको छैन । साउन महिनामा ७१ करोड ६१ लाखको लक्ष्य रहेकामा ५७ करोड ८० लाख मात्रै संकलन भएको थियो । भदौमा ७४ करोड २१ लाखको लक्ष्यमा ५३ करोड ७० लाख, र असोजमा ७६ करोड ७७ लाखको लक्ष्यमा ६७ करोड ७८ लाख रुपैयाँ मात्रै उठाइएको अर्यालले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा कुल नौ अर्ब ७१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । हालसम्म संकलित रकम वार्षिक लक्ष्यको १८ दशमलव ४६ प्रतिशत मात्र भएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा पनि कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको थियो । सो वर्षमा ११ अर्ब १६ करोड २६ लाखको लक्ष्य रहेकामा आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ मात्र संकलन भएको थियो, जुन वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत बराबर हो ।





