विश्व तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली टोलीलाई विदाई



काठमाडौँ । चीनको उक्सीमा सन् २०२५ अक्टोबर २४ देखि ३० तारिखसम्म हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी–१४) र नोभेम्बर २ देखि ४ तारिखसम्म हुने विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्ज (जी–२) प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघले विदाई गरेको छ ।

संघको सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणाले सोमबार तेक्वान्दो संघमा आयोजना गरिएको कार्यक्रममा खेलाडी र अफिसियललाई विदाई गरे ।

उक्त प्रतियोगितामा पुरुषतर्फ सुमित विष्ट (–५८ केजी), अफ्ताब आलम (–५४ केजी), अरुण टमाटा (–६३ केजी), सुगन श्रेष्ठ (–६८ केजी), आशिष भण्डारी (–७४ केजी) र अभिषेक बराल (–८० केजी) सहभागी हुनेछन् । महिलातर्फ सन्तोषी राई (–४६ केजी) र ईशा महतो (–४९ केजी) प्रतिस्पर्धा गर्नेछन् । टोलीमा प्रशिक्षक सयद हसन रेजा पनि रहेका छन् ।

खेलाडी र प्रशिक्षक टोली आगामी कात्तिक ३ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

त्यस्तै, विश्व तेक्वान्दोको कार्यक्रमअनुसार अक्टोबर २३ तारिखमा उक्सीमा आयोजना हुने वर्ल्ड तेक्वान्दो जेनरल एसेम्बली (साधारण सभा) मा सहभागिताका लागि नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ, सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणा र प्रशिक्षक कविराज खड्गी पनि कात्तिक ४ गते चीन प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्