
काठमाडौँ । नेपालका शीर्ष एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्मा आगामी एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
दुबईस्थित इमिरेट्स गल्फ क्लबमा अक्टोबर २३ देखि २६ तारिखसम्म हुने सो प्रतियोगितामा सहभागी हुन राहुल सोमबार दुबई प्रस्थान गर्नेछन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार आयोजित कार्यक्रममा बिदाइ गरे । अमेरिकामा उच्च अध्ययन गर्दै एनसीएए डिभिजन वानमा खेलिरहेका सदभाव भने त्यहीँबाट प्रत्यक्ष दुबई पुग्ने छन् ।

प्रतियोगिताअघि दुबै खेलाडीले दुई अभ्यास राउन्ड खेल्ने कार्यक्रम रहेको छ । यस च्याम्पियनसिपमा एसिया–प्यासिफिक क्षेत्रका उत्कृष्ट एमेच्योर गल्फरहरूबीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि सन् २०२२ मा नेपाली गल्फर सुबाष तामाङले यो प्रतियोगितामा कट बनाउन सफल भएका थिए, जो अहिलेसम्म नेपालको उत्कृष्ट प्रदर्शन मानिन्छ । अन्य नेपाली खेलाडी भने कट बनाउन सफल भएका छैनन् ।
यस वर्ष सदभावले अमेरिकाको अनुभव र राहुलले भारतको तरूण सरदेशाई एकेडेमीमा गरेको प्रशिक्षणका कारण राम्रो प्रदर्शनको अपेक्षा गरिएको नेपाल गल्फ संघले जनाएको छ ।
एसिया–प्यासिफिक एमेच्योर च्याम्पियनसिपका विजेताले द मास्टर्स र द ओपन च्याम्पियनसिपमा प्रत्यक्ष प्रवेश गर्ने अवसर पाउनेछन् ।





