
काठमाडौँ, कात्तिक २ गते ।
बहराइनमा आयोजना हुने तेस्रो एसियाली युथ गेम्समा नेपालका सात खेलाडीले पाँच खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालका तर्फबाट ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले सहभागिता जनाउनेछन् ।
त्यस्तै, अफिसियलका रूपमा ब्याडमिन्टनका तिलक पाण्डे, गल्फका ध्रुवबाबु थापा, जुडोकी देवकीमाया श्रेष्ठ, मुवाँथाईका भूपेश शाक्य र पौडीकी नयना शाक्य रहनेछन् ।
प्रतियोगितामा सहभागी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव एवं राखेप सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, तथा राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टलगायतले एक समारोहबीच बिदाइ गरे ।
पहिलो चरणमा मुवाँथाई टोली मंगलबार बहराइन प्रस्थान गर्नेछ भने गल्फ खेलाडी रुवेन थापा हाल विदेशमै रहेकाले त्यहीँबाट प्रत्यक्ष बहराइन पुग्ने छन् ।






