
काठमाडौँ । बारा र पर्सा जिल्लामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले हैजाविरुद्धको खोप लिएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार दुवै जिल्लाको कुल १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये हालसम्म सात लाख २३ हजार ८३६ जनाले खोप लगाइसकेका छन् ।
खोप शाखाले उपलब्ध गराएको प्रारम्भिक विवरणअनुसार, पर्सामा सुरु भएको छैटौँ दिनसम्म छ लाख ५२ हजार १२९ लक्षित जनामध्ये चार लाख ५६ हजार ७७८ जनाले खोप लिएका छन् । त्यस्तै, बारामा तीन लाख ६५ हजार ९३१ जनामध्ये दुई लाख ६७ हजार ५८ जनाले खोप लगाइसकेका छन् ।
पर्सामा फैलिएको हैजा महामारी नियन्त्रणका लागि जिल्ला भित्रका सबै स्थानीय तहसँगै, पर्सासँग सिमाना जोडिएका बाराका कलैया उपमहानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकामा एक वर्षमाथिका सबै नागरिकलाई हैजाविरुद्ध खोप दिइँदैछ ।
पर्सामा असोज २६ र बारामा असोज २७ देखि सुरु गरिएको खोप अभियान हाल सबै स्थानीय तहमा उत्साहका साथ जारी रहेको डा. गौतमले जानकारी दिए । उनका अनुसार, “अभियानलाई भोलिसम्म निरन्तरता दिइनेछ र बाँकी लक्षित जनतालाई तिहारपछि खोप दिने योजना बनाइएको छ।”
नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा संक्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै खोप अभियान सञ्चालन गरेको हो । यस अभियानअन्तर्गत सरकारी तथा गैरसरकारी संस्था, मन्दिर, मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका मुख्य नाका, उद्योग, कारखाना र इँट्टाभट्टाजस्ता स्थानहरूमा खोप सेवा प्रदान गरिएको छ ।





