
काठमाडौँ । अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरू भारत पञ्जाबका २४ वर्षीय परमप्रित सिंह र २८ वर्षीय लवप्रित सिंह रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूले भारत हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई अष्ट्रेलिया पठाइदिने प्रलोभन देखाएर झुक्यानमा पार्दै नेपाल ल्याई बन्धक बनाएका थिए ।
उनीहरूले सुन्धारास्थित होटल न्यू जोमसोमको कोठा नम्बर ६ मा पीडितलाई बन्धक बनाएर रु २० लाख फिरौती मागिरहेको सूचनाका आधारमा प्रहरीले शुक्रबार दुवैलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकासँग विभिन्न कम्पनीका चार थान मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।





