
काठमाडौँ । आँगनभरि ढकमक्क मखमली फूल फुल्छ । टपक्क टिपेर माला उनेर दाजुको गलामा पहिराउने चाहना मनमा पलाउँछ । तर, जसको गलामा त्यो माला हुनुपर्ने हो, ऊ त अहिले समुद्रपारि छ ।
बौद्ध जोरपाटीकी सुमना बेल्वासे जब तिहार आउँछ, विदेशिएका दाजुको सम्झनामा आँखा रसाउँछिन् । उनी भन्छिन्, “दाइ यहाँ भएको भए यी मखमली फूल टिपेर गलाभरि पहिराइदिन्थे ।”
चार वर्षदेखि कोरियामा रोजगारीमा रहेका दाजुले नै परिवारको खर्च धानेका छन् । त्यसैले सुमनाका लागि दाजु केवल परिवारका सदस्य होइनन्, जीवनका अभिभावकजस्तै हुन् । आर्थिक रूपमा सशक्त भए पनि तिहारका बेला भने दाजुको अनुपस्थितिले घरमा शून्यता ल्याउने गरेको उनी बताउँछिन् । “विगतमा देउसी–भैलो खेलेर रमाउँथ्यौं,” उनले भनिन्, “दाइ अर्को वर्ष फर्किन्छु भन्नुभएको छ, यही आशामा छु ।”
ललितपुर डल्लुकी प्रिन्सा बस्नेत पनि तीन वर्षदेखि विदेशिएका भाइको सम्झनामा एक्लै तिहार मनाउँदै आएकी छन् । भिडियो कलमै भाइलाई टीका देखाउने र शुभकामना साट्ने गर्छिन् । “डिजिटल माध्यम नभएको भए यो दूरी झन् असह्य हुनेथियो,” उनले भनिन्, “तर, भाइ आँखै अगाडि भए कति रमाइलो हुन्थ्यो होला भनेर सोच्दै गर्छु ।”
भक्तपुरकी रोमा भट्टराई पनि हरेक तिहारमा विदेशिएका कान्छा भाइको अभाव गहिरो महसुस गर्छिन् । घरमा भएका दाजुलाई टीका लगाउँदा विदेशको सम्झना अनिवार्य रूपमा आउँछ । “यस्तो बेला हाँसो र आँसु दुवै आउँछ,” उनले भनिन्, “विदेशिएको भाइ र यही भएको दाजु सँगै भेला भएर तिहार मनाउने दिनको प्रतीक्षामा छु ।”
त्यस्तै, कोटेश्वरकी गङ्गा कोइरालाका दुई दाजु रोजगारीका लागि कतारमा छन् । उनी भन्छिन्, “दाजुहरू टाढा भएपछि सम्बन्ध झनै गाढा भएको महसुस गर्छु । हरेक वर्ष तिहारमा उहाँहरूले कुनै न कुनै उपहार पठाइदिनुहुन्छ, त्यो माया नै सबैभन्दा ठूलो दक्षिणा हो ।”
समाजशास्त्री डा. मीना पौडेलका अनुसार वैदेशिक रोजगारीले नेपाली समाजमा केवल आर्थिक नभई सामाजिक र सांस्कृतिक रूपले पनि ठूलो प्रभाव पारेको छ । “वैदेशिक रोजगारले सामाजिक मूल्य, परम्परा र संस्कृति जगेर्ना गर्ने काम गरेको छ,” उनले भनिन्, “यसले आर्थिक रेमिट्यान्स मात्र होइन, सामाजिक पुँजी पनि बढाएको छ ।”
वैदेशिक रोजगार विभागका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या आठ लाख ३३ हजार पुगेको छ, जसमा सात लाख ३९ हजार ४९ पुरुष र ९३ हजार महिला रहेका छन् । गत वर्षको तुलनामा यो संख्या एक लाखले बढेको हो ।
तिहारको रंग, मखमलीको सुवास र सम्बन्धको आत्मीयता—यी सबैको केन्द्रमा छन् परदेशिएका दाजुभाइ र प्रतीक्षामा बस्ने बहिनीहरू । तिनीहरूका लागि तिहार अब केवल उज्यालोको पर्व होइन, सम्झनाको त्यो क्षण हो—जहाँ प्रेमको माला देशको सीमापार पनि सधैं उस्तै सुगन्धित रहन्छ ।





