‘जेन्जी तिहार’ : आक्रोश, आँसु र आशाको सन्देश बोकेको गीत (भिडियो सहित)



काठमाडौँ । शुभ दीपावली–२०८२ लाई लक्षित गर्दै नयाँ गीत ‘जेन्जी तिहार’ सार्वजनिक गरिएको छ । यो गीत विशेष रूपमा गत भदौ २३ र २४ गते जेन्जी पुस्ताले गरेको प्रदर्शन र त्यसमा राज्यद्वारा गरिएको दमनलाई केन्द्रमा राखेर तयार पारिएको छ ।

गीतका शब्द तुलसी बाँस्कोटा र सजिना लामिछानेले लेखेका हुन् । संगीत बाँस्कोटा स्वयं र चलचित्र निर्देशक आरबी खत्री शरदले संयुक्त रूपमा गरेका छन् । राजिव शाहले संगीत संयोजन, रेकर्डिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन् । गीतमा आरबी खत्री शरद, श्रद्धा दियाली, रमेश मैनाली, राजिव शाह र निर्मला कार्कीको स्वर समावेश गरिएको छ ।

भिडियोमा आरबी खत्री शरद, लक्ष्मीनाथ तिमल्सिना, सरिता भण्डारी, सजिना लामिछाने, रमेश मैनाली, शिव मैनाली, राज धामी, लक्ष्मी जोशी, पिय्रा कार्की, पार्वती अधिकारी भट्टराई, श्रीदा क्षेत्री, बिन्दु श्रेष्ठ, तेजी कुँवर, सपना देवकोटा, अनिल राई, गीता ओली, सुजिता खत्री र लक्ष्मी सिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

गीतको कोरियोग्राफी दिनेश लिम्बुले गरेका छन् भने निर्देशन आरबी खत्री शरदले गरेका हुन् । राज पोख्रेलले छायाङ्कन र राज धामीले सम्पादन गरेका छन् ।

भिडियोले देशमा फैलिएको भ्रष्टाचार र परम्परागत राजनीतिप्रति जेन्जी पुस्ताको रोषलाई अभिव्यक्त गरेको छ । गीतमा “देश बन्छ” भन्दै घरबाट निस्केको युवाको मृत्युको खबर सुनेर आमा विक्षिप्त बन्न पुगेको हृदयविदारक दृश्य प्रस्तुत गरिएको छ ।

‘आदि शक्ति अफिसियल’ युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको ‘जेन्जी तिहार’ ले आक्रोश, पीडा र परिवर्तनको चाहना एकसाथ बोकेको सशक्त सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्