भूपेन्द्र गुरुङ विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा खेल्ने



काठमाडौँ, कात्तिक १ गते ।
नेपाली मार्सल आर्ट्स खेलाडी भूपेन्द्र गुरुङले आगामी विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुने भएका छन् । उक्त प्रतियोगिता अक्टोबर २६ तारिखमा अमेरिकाको बोस्टनमा हुने कार्यक्रम रहेको छ ।

वल्र्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा हुने प्रतियोगितामा गुरुङले तीन विधा — छाङ छ्वान, ताइची र म्युजिकल फम्स मा प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यो भूपेन्द्रको अमेरिकामा दोस्रो सहभागिता हो । यसअघि उनले अमेरिकी सहरहरूमा आयोजित तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई तीन स्वर्ण र तीन रजत पदक जितेका थिए । उनले जर्मनी, युके र थाइल्यान्डमा भएका प्रतियोगितामा पनि पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उँचो बनाएका छन् ।

भूपेन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा निर्णायकको भूमिकासमेत निर्वाह गरेका छन् । उनलाई राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेत, नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष रमेश महर्जन र कोषाध्यक्ष सूर्य तामाङले शनिबार एक विशेष समारोहबीच बिदाइ गरेका छन् । भूपेन्द्र अक्टोबर २३ तारिखमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्