
काठमाडौँ । उज्यालो र उल्लासको पर्वका रूपमा मनाइने यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ भएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि लागेसँगै सुरु भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज धनतेरस (धन त्रयोदशी) र यमदीपदान पर्व मनाइँदैछ । समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार आजैदेखि यमदीपदान विधिपूर्वक सुरु हुन्छ भने काग तिहार आइतबार परेको छ ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार सायङ्कालमा त्रयोदशी तिथि परेका दिन यमदीपदान र बिहान त्रयोदशी परे काग तिहार मनाउने परम्परा छ । शास्त्रीय विश्वास अनुसार यमपञ्चकका अवसरमा यमदीपदान गरे यमलोकको यातनाबाट मुक्ति मिल्छ । यस वर्ष धनवन्तरी जयन्ती आइतबार परेको छ भने सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार यमदीपदान परिवारका सदस्यको संख्याअनुसार दक्षिण फर्काएर गर्नुपर्छ । यो दान कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म, अर्थात् भाइटिकाको दिनसम्म गरिन्छ ।
समितिका अध्यक्ष ढकालका अनुसार कात्तिक २ गते आइतबार बिहान नरक स्नान गरेर कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्नेछ । बिहान अपामार्गसहित स्नान गरी बत्ती बालेर नदीमा बगाउँदा नरकको यातनाबाट मुक्ति मिल्ने धार्मिक मान्यता छ ।
कात्तिक ३ गते दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा यसै दिन गर्ने निर्णय गरिएको हो । राति औँसी तिथि परेको कारण शास्त्रानुसार त्यसै रात लक्ष्मीपूजा गर्नुपर्छ । कात्तिक ४ गते मङ्गलबार औँसी दिउँसो ४ः२९ बजेसम्म रहने भएकाले यस दिन कुनै विशेष पर्व छैन ।
कात्तिक ५ गते बुधबार गाईगोरु तथा गोवर्द्धन पूजा, हलितिहार, बलीपूजा र आत्म (म्ह) पूजा गरिन्छ । यही दिन नेपाल संवत् ११४६ पनि सुरु हुने समितिले जनाएको छ ।
कात्तिक ६ गते बिहीबार भाइटिका पर्व मनाइनेछ । समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार भाइटिकाको शुभ साइत बिहान ११ः३९ बजे परेको छ । भाइहरूले पश्चिम फर्केर र दिदीबहिनीहरूले पूर्व फर्केर टीका लगाउनुपर्ने परम्परा छ । सर्वसाधारणका लागि मध्याह्न समयमा पनि टीका लगाउन सकिने समितिले जनाएको छ । सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै आपत्ति नहुने बताइएको छ ।
राजधानी काठमाडौंसहित देशभर अहिले नै तिहारको झिलिमिली देखिन थालिएको छ । घर, पसल र सडकहरू रंगीन बत्तीले झलमल्ल भएका छन् । केहीले कोजाग्रत पूर्णिमादेखि नै दीपावलीको उज्यालो निरन्तरता दिएका छन् ।
दसैँमा सुनसान रहने काठमाडौं तिहारमा झिलिमिली र उत्सवमय बन्छ । लक्ष्मीपूजाका दिन भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने चलन छ । कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमादेखि नै देउसी–भैलो सुरु गर्ने परम्परा रहँदै आएको छ ।
यसैबीच नेपाल प्रहरीले तिहारको अवसरमा पटाका नपड्काई सभ्य र सुरक्षित रूपमा पर्व मनाउन आह्वान गरेको छ ।





