
बागलुङ । जिल्लाका विभिन्न ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारको समयमा सर्वसाधारणलाई आवतजावतमा सहजता भएको छ । निरन्तर वर्षाका कारण झन्डै चार महिनासम्म अवरुद्ध रहेका सडक हाल सञ्चालनमा आएपछि स्थानीयवासीले राहत अनुभव गरेका छन् ।
दसैँअघि नै सडक खुल्ने अपेक्षा गरिएको भए पनि बाढी–पहिरोका कारण थप अवरोध हुँदा ढिलाइ भएको थियो । तिहार नजिकिँदै गर्दा सडक खुल्नासाथ गाउँलेहरूलाई यात्रा गर्न र सामान ढुवानी गर्न सहज भएको छ । दसैँका बेला बजारबाट बोकेरै सामान ल्याउनुपर्ने अवस्था रहेकामा अहिले भने गाडीमार्फत सामान गाउँसम्म पु¥याउन सक्ने भएका छन् ।
निसीखोला गाउँपालिका–१ का कर्णबहादुर सुनारका अनुसार असार दोस्रो सातादेखि बन्द रहेका सडक खुलेसँगै अहिले आवतजावत र ढुवानीमा सहजता आएको छ । उनले भने, “यो वर्ष पहिरोले ठाउँ–ठाउँमा बाटो पु¥र्यो, दसैँमा त बोकेरै सामान ल्यायौँ, अहिले तिहार सुरु हुनुअघि नै सडक खुलेपछि गाडी चल्न थालेका छन् ।”
यसैगरी जिल्लाका दुर्गम बस्ती नजाखानी, भत्रिवन र पात्ले जोड्ने सडक पनि सञ्चालनमा आएका छन् । तमानखोला गाउँपालिकाले मेसिन प्रयोग गरी सडकमा आएका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । स्थानीय बिमल छन्त्यालका अनुसार दसैँका बेला नर्जा खोलामा पानीको बहाव बढेकाले सवारीसाधन चल्न सकेको थिएन, तर अहिले पानी घटेसँगै यातायात सहज बनेको छ ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दसैँअघि सडक खुलाउने प्रयास गरे पनि अविरल वर्षाका कारण ढिलाइ भएको बताए । उनका अनुसार हाल पालिकाभित्रका अधिकांश सडक सञ्चालनमा आइसकेका छन् भने बोङ्गादोभान–तमान–लम्मेला हुँदै म्याग्दी जोड्ने सडक पनि सञ्चालनमा आएको छ । तर खुङ्खानी खोलामा पानीको बहाव अझै नघटेकाले त्यहाँ सवारीसाधन सञ्चालनमा केही कठिनाइ रहेको उनले जानकारी दिए ।
निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरका अनुसार वडा नं. १ देखि ७ सम्मका अधिकांश सडक सञ्चालनमा आइसकेका छन् । बाँकी केही सडक पनि मर्मत कार्य भइरहेकाले तिहारअघि नै सबै सञ्चालनमा ल्याइने उनले बताए ।





