
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको खोटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङसम्म जोड्ने ग्रामीण सडक स्तरोन्नति कार्य सम्पन्न भएको छ ।
पहिले सवारीसाधन गुडाउन कठिन रहेको यो सडक अहिले ‘ग्राभेल’सहित नाली र पर्खाल निर्माण भएपछि आवतजावत सहज बनेको छ । वर्षायाममा हिलो र हिउँदमा धुलोले समस्या हुने सडक सुधारिएपछि गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवा–सुविधाको पहुँचमा सुधार आएको हो ।
सडक सुधारसँगै किसानलाई कृषि उत्पादन बजारसम्म लैजान, विद्यार्थीलाई विद्यालय पुग्न र बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन सहज भएको छ । करिब नौ किलोमिटर लामो यो सडक तीन करोड ५० लाख रुपैयाँको लागतमा सङ्घीय सरकारको बजेटमा गाउँपालिकाको पहलमा स्तरोन्नति गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।
यो सडक पश्चिमी टेम्केमैयुङ गाउँपालिकाका बासिन्दालाई भोजपुर सदरमुकामसँग जोड्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नतिपछि गाउँलेको दैनिकीमा सकारात्मक परिवर्तन आएको स्थानीय रमेश विष्टले बताए । “पहिले बिरामी, असक्त र ज्येष्ठ नागरिकलाई हिँड्नसमेत गाह्रो पर्थ्यो,” उनले भने, “अहिले गाडी सजिलै गुड्ने भएकाले ठूलो राहत भएको छ ।”





