
दाङ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ मेसिन डेढ वर्षदेखि बिग्रिएर प्रयोगविहीन बनेको छ । उपकरण बिग्रिएपछि नसासम्बन्धी समस्या भएका बिरामी र दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि अन्य अस्पतालमा पठाइँदै आएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेका अनुसार प्राविधिकहरूले मर्मत गर्न नसक्ने बताएका कारण मेसिन यत्तिकै थन्किएको हो । उनका अनुसार मर्मतको जिम्मेवारी लुम्बिनी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा भए पनि सो निकायले पनि मर्मत गर्न नसक्ने जनाएको छ ।
‘६४–स्लाइस’ क्षमताको सो मेसिन मापदण्डअनुसार नहुँदा समस्या आएको अध्यक्ष न्यौपानेले बताए । “यो मेसिन कमसल किसिमको थियो,” उनले भने, “सुरुमा नै राम्ररी चलेको थिएन, अहिले त झन् पूरै बिग्रिसकेको छ ।”
सिटीस्क्यान मेसिन २०७७ सालमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, लुम्बिनीमार्फत अस्पताललाई उपलब्ध गराइएको थियो । तीन करोड रुपैयाँभन्दा बढी लागतमा खरिद गरिएको यो मेसिन सञ्चालनको पाँच वर्षमै बिग्रिएको हो ।





