
म्याग्दी । राष्ट्रिय गौरवको आयोजनामध्ये एक कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डमा मुस्ताङको थासाङ गाउँपालिका–३ स्थित सेतो खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले २५ मिटर लामो र ११ मिटर चौडा आरसिसी प्रविधिको मोटरेबल पुल निर्माण सम्पन्न गरेको हो । रु छ करोड ३५ लाख ७९ हजार ६९६ लागतमा बनेको यस पुलले अब सवारीसाधनलाई खोलामै जोखिम मोलेर वारपार गराउनुपर्ने बाध्यता समाप्त गरेको छ ।
आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार २०८० साल असार ११ गते ठेक्का सम्झौता गरिएको हिमालयन ताण्डपेश्वर जेभीले तोकिएको समयभन्दा एक महिना अघि पुल निर्माण सम्पन्न गरेको हो ।
कम्पनीका प्रतिनिधि रवीन्द्र कार्कीका अनुसार प्रतिकूल भूगोल, असहज मौसम र यातायात अवरोधका बीच पनि मजदुर, प्राविधिक तथा उपकरणहरूको प्रभावकारी परिचालनका कारण समयमै निर्माण कार्य पूरा गर्न सम्भव भएको हो । “बर्खामा दिउँसोपछि पानी पर्थ्यो र हिउँदमा लामो समयसम्म चिसो रहने लेते क्षेत्रमा निर्माण चुनौतीपूर्ण थियो, तर सबै पक्षको सहयोगले समयमै पुल बनाउन सफल भयौँ,” उनले बताए ।
पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सीमाना कोरला नाकासम्म २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकखण्डमा हालसम्म २४ मध्ये १३ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । बाँकीमध्ये थासाङ गाउँपालिकाकै कैह्कु र कोवाङ खोलामा निर्माणाधीन दुई पुल अन्तिम चरणमा पुगेको इञ्जिनियर चापागाईंले जानकारी दिए ।





