
काठमाडौँ । पोखरा विश्वविद्यालयले पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) र तथ्याङ्क विज्ञान विषयमा स्नातक तहको कार्यक्रम सुरु गरेको छ । विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसले यस शैक्षिक सत्रदेखि उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
श्रमिक शान्ति क्याम्पसले सुरु गरेको ‘बीएआइडीएस’ (Bachelor in Artificial Intelligence and Data Science) कार्यक्रमको बारेमा शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्राध्यापक बुद्धिराज जोशीले बजारको माग र प्रविधिको तीव्र विकासलाई ध्यानमा राख्दै एआई विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताए । उनका अनुसार एआई क्षेत्र भविष्यको रोजगारी र अनुसन्धानका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएकाले यो विषयमा दक्ष जनशक्ति उत्पादन आवश्यक भएको हो ।
अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रका कार्यकारी निर्देशक सह–प्राध्यापक दीपाञ्जल श्रेष्ठले एआई क्षेत्रमा देशमा आवश्यक जनशक्तिको अभाव रहेको उल्लेख गर्दै विश्वविद्यालयले सो माग पूर्तिका लागि आफ्नै आङ्गिक क्याम्पसबाट कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
यसअघि त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको श्रमिक शान्ति कलेज अब पोखरा विश्वविद्यालयको शैक्षिक व्यवस्थापनअन्तर्गत सञ्चालन हुने भएको छ ।
कलेजले यससँगै कम्प्युटर विज्ञान र सूचना प्रविधि विषयमा स्नातक (बीसीएसआइटी) तथा कानुन विषयमा स्नातक (बिएएलएलबी) कार्यक्रम पनि सञ्चालन गरेको छ । यी कार्यक्रमका लागि प्रतिकौर्स रु ४ लाख ३० हजारदेखि रु ४ लाख ९२ हजारसम्म शुल्क निर्धारण गरिएको छ भने २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन डा. सुरेन्द्र तिवारीले जानकारी दिए ।
विश्वविद्यालयका उप–प्रशासक सानु घलेका अनुसार पोखरा विश्वविद्यालयअन्तर्गत हाल पाँच आङ्गिक क्याम्पस, तीन संयुक्त आङ्गिक क्याम्पस र ५८ सम्बन्धन प्राप्त क्याम्पसमा गरी झन्डै ४० हजार विद्यार्थी अध्ययनरत छन् ।





