धान भित्र्याउन किसानलाई भ्याइनभ्याई



कैलाली । बडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धान काट्न नपाएका कैलालीका किसान अहिले धान भित्र्याउने काममा अत्यन्तै व्यस्त छन् । उज्यालो पर्व तिहारको उमङ्ग चलिरहेका बेला किसान भने खेतमा पाकेर पहेँलपुर बनेका धानबाली काट्न र भित्र्याउन दिनरात खटिएका छन् ।

धनगढी उपमहानगरपालिका–१३ का किसान चेतराज भट्टले दुई साताअघि नै खेतमा झुलिसकेको धान अब मात्र काट्न पाएको बताए । उनले भने, “मौसम अनुकूल भएपछि बल्ल धान काट्न र भित्र्याउन सकियो । यस वर्ष अधिकांश क्षेत्रमा उत्पादन राम्रो छ, केही ठाउँमा मात्र रोग–कीराको समस्या देखिएको छ ।”

दसैँताका परेको लगातार वर्षाले कैलालीसहित प्रदेशका अन्य जिल्लाका किसानका खेतमा सुकाइ राखिएको धान भिजेर नोक्सानी भएको थियो । तर अहिले मौसम स्थिर भएपछि किसानले बाँकी फसल भित्र्याउने काम तीव्र पारेका छन् ।

धान किसानको प्रमुख आम्दानीको स्रोत हो । उनीहरू घरायसी उपभोगका लागि आवश्यक अन्न भण्डारण गरेर बाँकी उत्पादन स्थानीय व्यापारीलाई बिक्री गर्छन् । कञ्चनपुरको पुरैना गाउँका किसान केशव पाठकले भने गाउँका किसानले धानको उचित मूल्य नपाइरहेको गुनासो गरे । “व्यापारीले प्रतिक्विन्टल दुई हजार ६०० रुपैयाँ मात्रै तोकेका छन्, जसले गर्दा चाडपर्वमा खर्चको जोहो गर्नै मुस्किल परेको छ,” उनले भने ।

सुदूरपश्चिममा दसैँ र तिहारका बेला नयाँ धानको चामलबाट न्वागी, माणा, सिरौला लगायतका स्थानीय परिकार बनाउने परम्परा छ । नयाँ बालीको अन्न देवी–देवतामा अर्पण गरेपछि मात्र परिवारले खाने प्रचलन रहिआएको किसान पाठकले बताए ।

धान वा गहुँ काट्नुअघि पहिलो बाला काटेर घरको दैलो र कुलदेवताको मन्दिरमा गाईको गोबरले टाँसेर पूजा गर्ने चलन प्रदेशमा छ, जसलाई ‘देलीबालो लगाउने’ भनिन्छ । स्थानीय विश्वासअनुसार देलीबालो लगाउँदा कुलदेवता प्रसन्न भई अन्न उत्पादन वृद्धि हुने र भण्डारण गरिएको खाद्यान्न सुरक्षित रहने गर्छ ।

कृषि विकास निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल एक लाख ८१ हजार ३९६ हेक्टर क्षेत्रमा बर्खे धानखेती हुने गर्छ । तीमध्ये सबैभन्दा बढी क्षेत्रफल कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर रहेको छ ।

त्यस्तै डोटी, डडेलधुरा, बाजुरा, बैतडी, बझाङ र दार्चुला लगायतका पहाडी जिल्लामा झण्डै ६० हजार हेक्टर क्षेत्रमा धानखेती हुने गरेको छ । पछिल्ला वर्षहरूमा उत्पादन र उत्पादकत्व दुवै बढ्दो क्रममा रहेको कृषि प्राविधिकहरूले बताएका छन् ।

कृषकहरूका अनुसार खेत जोत्नेदेखि बाली काट्ने र मड्ने काममा आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै गएको छ । यसले खेती गर्न सजिलो बनाउनुका साथै समय र श्रम दुबैको बचत गर्न मद्दत पुगेको उनीहरूको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्