तनहुँमा एक हजार ६ सय रोपनीमा ‘बृहत् बैरेनी जग्गा एकीकरण’ आयोजना



तनहुँ । व्यास नगरपालिकाले वडा नं १० स्थित बैरेनीमा बृहत् ‘बैरेनी जग्गा एकीकरण’ आयोजना सञ्चालन गरेको छ। दमौली बजार क्षेत्रमा अव्यवस्थित बसोबास बढ्दै गएपछि व्यवस्थित बस्ती विकास गर्ने लक्ष्यका साथ यो योजना अघि बढाइएको हो।

आयोजना प्रमुख इञ्जिनियर रवीन्द्र मुलका अनुसार, नेपाल सरकारले अध्ययन अवलोकनका लागि प्रक्रिया अगाडि बढाइसकेको छ। उनले भने, “बाटो र पूर्वाधार भएका जग्गाधनीको हकमा ६ प्रतिशत र नभएकाको हकमा ३० प्रतिशत कट्टा गरी जग्गा फिर्ता गरिनेछ। यसरी भए पनि जग्गाधनीले तीनगुणा बढी मुनाफा पाउने छन्।”

नगरपालिकाले हालै बैरेनीमा २६२ रोपनी क्षेत्रफलमा एकीकृत बस्ती विस्तारको काम सुरु गरेको छ। निर्माण तीव्र गतिमा अघि बढिरहेको हुँदा भविष्यमा पुनः अर्को ‘बृहत् बैरेनी जग्गा एकीकरण’ आयोजना समेत सञ्चालन गर्ने योजना रहेको छ।

इञ्जिनियर मुलका अनुसार, विसं २०८२ भित्र जग्गाधनीलाई स्थायी घडेरीको पुर्जा वितरण गर्ने लक्ष्य राखिएको छ। सम्झौताअनुसार विसं २०७९ मंसिर १४ गते ऋण सम्झौता भएको थियो, जुन २०८५ सालसम्मको अवधिका लागि थियो, तर तीन वर्षअघिनै काम पूरा गर्ने लक्ष्य राखिएको छ। उनले भने, “जमिनमुनिको कठिनाइ कार्य सकियो, अबको छ महिनाभित्र घडेरी छुट्याउने काम सम्पन्न गरिनेछ।”

आयोजनामा नाला निर्माण, कालोपत्र, विद्युत् खम्बा, खानेपानी जडान, पार्क, खेल मैदान तथा दुईवटा विद्युत् ट्रान्समिटर जडान गर्नुपर्नेछ। ट्रान्समिटर जडानका लागि विद्युत् प्राधिकरणसँग समन्वय गरिएको छ।

कूल लागत १३ करोड रुपैयाँ रहेको छ, जसमा नगर विकास कोषबाट ९ करोड १० लाख ५० हजार ४०० र नगरपालिका तथा गण्डकी प्रदेशबाट ४ करोड रुपैयाँ लगानी गरिएको छ। ऋण भुक्तानी अवधि ६ वर्षको र वार्षिक ब्याजदर ८ प्रतिशत रहेको छ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भने, “दमौली बजार र भादगाउँ क्षेत्र बस्ती विस्तारले साँघुरिएको छ। भावी पुस्ताका लागि बस्ती बसाउन नगरपालिकाले दीर्घकालीन सोचका साथ नगर विकास कोषसँग सहकार्य गर्दै अघि बढेको छ, जसले बस्ती विस्तारलाई सहज बनाउने विश्वास छ।”

प्रतिक्रिया दिनुहोस्