
चितवन, नारायणगढ — नारायणगढको लायन्सचोकस्थित लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछानेका अनुसार, गत वर्षको तुलनामा यस वर्ष तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री)को व्यापार करिब आधा घटेको छ। लामिछानेले व्यापार घट्ने मुख्य कारण घर निर्माणमा आएको सुस्तता भएको बताए।
उनी भन्छन्, “गत वर्ष यस समयमा व्यापार निकै तिब्र थियो, तर यस वर्ष नयाँ घर निर्माण कम भएका कारण ग्राहकले अघिल्ला वर्षका झालरहरू प्रयोग गर्न थालेका छन्।”
लामिछानेका अनुसार, पहिले भारतबाट आयात हुने झालर दोस्रो वर्ष प्रयोग गर्दा आधाभन्दा बढी बिग्रिन्थ्यो, तर पछिल्ला वर्ष चीनबाट आउने झालर दोस्रो वर्षमा करिब १० प्रतिशत मात्र बिग्रिने भएकाले नयाँ झिलिमिली किन्नेको संख्या घटेको छ।
विद्युत् व्यावसायिक सङ्घ, चितवनका अध्यक्ष विष्णुप्रसाद चालिसेले भने, “हाल बजारमा पर्याप्त सामान उपलब्ध नभएको र पहिलेको जस्तो उत्साह पनि छैन। भारत र चीनबाट आउने झिलिमिली तथा अन्य विद्युतीय सामग्री तातोपानी र केरुङ भन्सारबाट रोकिएपछि बिक्री प्रभावित भएको छ।”
उनले अनुमान गरे, “गत वर्षको तुलनामा यस वर्ष तिहारको व्यापार करिब ५० प्रतिशत घट्ने सम्भावना छ। अघिल्लो वर्ष जिल्लामा झिलिमिली कारोवार करिब रु १० करोड हाराहारी थियो भने यस वर्ष रु पाँचदेखि छ करोडको कारोबार हुने देखिन्छ। व्यापार घटेसँगै श्रमिक कटौती गर्नुपर्ने र प्राविधिकहरूले समेत काम नपाउने अवस्था देखिएको छ।”
चितवन विद्युत् सामग्रीको बिक्रीमा अग्रणी जिल्लामध्ये पर्दछ। काठमाडौँ, पोखरा जस्ता सहरपछि जिल्लामा सर्वाधिक झिलिमिली बिक्री हुने गर्दछ। जिल्लामा विद्युत् व्यवसायी सङ्घमा २४४ व्यवसायी आबद्ध छन् भने पूर्वी चितवनमा मात्र १४३ व्यवसायीले व्यवसाय कम भएको गुनासो गरेका छन्। दसैँअघि भएको जेन–जी आन्दोलनको प्रभाव पनि व्यापारमा परेको चालिसेले बताए।
विद्युत् व्यवसायी महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष तेजनारायण खरेलका अनुसार, पछिल्ला वर्षमा व्यापार घट्दा व्यवसायीहरू निराश छन्। उनका अनुसार, १० वर्षअघि विदेशबाट करिब रु ४० करोडभन्दा बढीको सामग्री आयात हुने गरेको थियो, तर हरेक वर्ष अपेक्षित वृद्धिको सट्टा उल्टै व्यापार घट्दै गएको छ।





