रामेछाप: सुनापति–३ का ७७ परिवार पहिरोको जोखिममा



रामेछाप । सुनापति गाउँपालिका–३ का ७७ परिवार पहिरोको उच्च जोखिममा परेका छन्। केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका बासिन्दा यस जोखिममा परेका हुन्। अविरल वर्षाका कारण पहिरो सक्रिय हुँदा कतिपय घर भत्किसकेका छन् भने अरू घर चिराचिरा भएर ढल्ने अवस्थामा पुगेका छन्।

बस्ती लगातार तलतलि सर्दै गएपछि पीडितहरूले तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन माग गरेका छन्। वर्षा रोकिएको दुई दिन बितिसकेको भए पनि पहिरो रोकिएको छैन। गाउँपालिकाले जोखिममा परेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम अघि बढाएको छ र राहत रकम उपलब्ध गराउने तयारी पनि गरिएको छ, सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले जानकारी दिइन्।

पीडित सीता खड्काका अनुसार, उक्त बस्तीमा बस्न सक्ने अवस्था नभएकोले तत्काल सुरक्षित बासको व्यवस्था मिलाउनु आवश्यक छ। स्थानीय मीनबहादुर खत्रीका अनुसार, यो क्षेत्र २०३५ सालमा पहिरोको जोखिम क्षेत्रमा सूचीकृत गरिएको थियो। केही बासिन्दा त्यतिबेला अन्यत्र सारिए पनि पछि पुनः बस्ती बसाइयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठका अनुसार, वडाध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा समिति बनाएर पीडितको पहिचान भइसकेको छ। राहत र पुनर्वासको तत्काल व्यवस्था नभए ठूलो जनधनको क्षति हुनसक्ने भएकाले सरकारले तत्काल जीवन रक्षाको उपाय सहित स्थायी पुनर्वासको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ।

प्रतिक्रिया दिनुहोस्