ओखलढुङ्गामा १०० जनामा क्षयरोग पुष्टि



ओखलढुङ्गा । जिल्लामा हालसम्म १०० जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७८–७९ देखि चालु आर्थिक वर्ष २०८२–८३ सम्मको तथ्याङ्कमा यो सङ्ख्या भेटिएको हो।

कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१–८२ मा ६५ पुरुष र ३० महिलामा क्षयरोग पुष्टि भएको थियो। चालु आव २०८२–८३ मा भने हालसम्म तीन पुरुष र दुई महिलामा क्षयरोग सङ्क्रमण देखिएको छ।

गत वर्ष सबैभन्दा बढी सङ्क्रमण सिद्धिचरण नगरपालिका (४० जना) मा पाइएको थियो। अन्य स्थानीय तहमा चिश्खुगढी गाउँपालिकामा १, सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बा १४, मानेभञ्ज्याङ १३, चम्पादेवी ६, लिखु ४ र मोलुङ २ जनामा क्षयरोग पुष्टि भएको थियो। चालु आवमा खिजीदेम्बा र चम्पादेवी गाउँपालिकाका दुई–दुई र सुनकोशीका एक जनामा नयाँ सङ्क्रमण भेटिएको छ।

पोखरेलले क्षयरोगका सामान्य लक्षणहरूमा लगातार रुघाखोकी, खकारमा रगत आउनु, साँझपख ज्वरो, राति अत्यधिक पसिना, तौल घट्नु र खाने इच्छा नहुनु रहेका बताउँदै, यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी निःशुल्क परीक्षण र उपचार लिन आग्रह गरे।

उक्त कार्यालयले समुदायस्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाका सबै स्थानीय तहसँग समन्वय गर्दै जाँच, सचेतना र उपचार सेवा प्रवद्र्धनमा पहल भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्