पुष्प व्यवसायः आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी



काठमाडौँ – नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु हुँदै गर्दा फूलको किनबेच पनि बढेको छ। फूल र रङको पर्वका रूपमा चिनिने तिहारमा पूजा, विवाह, स्वागत, बिदाइ र मृत्युपछि प्रयोग हुने फूलको माग उच्च हुन्छ।

नेपालमा फूलखेती २०११ सालदेखि सामान्य रूपमा हुँदै आएको भए पनि २०५० सालको दशकपछि यसले व्यावसायिक स्वरूप लिन थालेको हो। पछिल्लो दशकमा फूलको व्यावसायिक खेती गर्ने कृषकको संख्या तीव्र रूपमा बढेको छ। पुष्प व्यवसायबाट राम्रो आम्दानी हुने भएकाले कृषकहरू अन्य कृषिजन्य उत्पादनसँगै फूलखेतीमा पनि आकर्षित हुन थालेका छन्।

विशेषतः तिहारको अवसरमा फूलको व्यापार अत्यधिक हुने गरेको छ। नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार, केवल काठमाडौँ उपत्यकाभित्रै तिहारमा ४० लाखभन्दा बढी माला बिक्री हुने गरेको छ। फूलको बढ्दो प्रयोग र सहरीकरणका कारण नर्सरीदेखि भाडामा लिएको जमिनमा समेत पुष्प व्यवसाय सुरु भइसकेको छ। सातै प्रदेशका मुख्य सहर र देशका ५२ जिल्लामा फूलखेती भइरहेको उनले बताए।

अध्यक्ष श्रेष्ठ भन्छन्, “नेपालको वातावरण पुष्पखेतीका लागि अनुकूल छ। अहिले देशभर झण्डै २७० हेक्टर क्षेत्रमा पुष्पखेती भइरहेको छ।” पुष्प व्यवसायमा कुल लगानी ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी रहेको र यसले ५३ हजार ५०० भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गरेको छ।

पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा बढी रहेको छ। कोरोना महामारीले केही प्रभाव पारे पनि व्यवसाय विस्तारसँगै पुनः गतिशील बनेको छ। आर्थिक वर्ष २०८०–८१ मा पुष्प व्यवसायबाट ३ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको थियो भने २०८१–८२ मा ३ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

भन्सार विभागका अनुसार, आव २०८०–८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात १ करोड २ लाख १२ हजार रुपैयाँ रहेकोमा, आव २०८१–८२ मा २ करोड १३ लाख ६० हजार रुपैयाँको निर्यात भएको थियो। नेपालमा उत्पादन हुने फूल जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, युएईलगायत मुलुकमा निर्यात हुँदै आएको एसोसिएसनले जनाएको छ।

यस वर्ष काठमाडौँ महानगरपालिकाले स्वदेशमै उत्पादन हुने फूलको प्रवद्र्धन गर्न विदेशबाट आयात गरिएको फूलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले केही दिनअघि पत्रकार सम्मेलनमार्फत विदेशबाट आयात गरिएको फूलमा रोक लगाउने नीति लागू गरिएको जानकारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्