बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित



सिन्धुली, असोज ३१ । जिल्लाको प्रमुख जुनार उत्पादन क्षेत्र गोलञ्जोर गाउँपालिकामा हालै जुनार बोटमा रोग देखा परेपछि स्थानीय किसान चिन्तित बनेका छन्। बोटमै फलेका जुनार फल कुहिएर भुईँमा झर्न थालेपछि कृषकको आयमा ठुलो असर पर्ने देखिएको छ।

गोलञ्जोर–४ का कृषक लोकबहादुर आलेमगरका अनुसार, बजार पठाउने तयारी भइरहेका बेला जुनार फल कुहिन थालेको छ। उनले भने, “पहिले यस्तो कहिल्यै भएको थिएन। के रोग लाग्यो थाहा छैन, तर बोटमा फलेका फल भुईँमा झर्दा ठूलो घाटा हुने भयो। सरकारले रोगको कारण पत्ता लगाई समाधान गर्नुपर्छ।”

कृषकको समस्या बुझ्न राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली र गोलञ्जोर गाउँपालिकाको संयुक्त टोलीले असोज २८ गते आलेगाउँ, माझकुभिण्डे र मालिङ्गे क्षेत्रका १५ जना किसानका बगैँचा स्थलगत अवलोकन गरेको थियो।

गोलञ्जोर कृषि विकास शाखाका प्रमुख चन्द्रकान्त चौधरीका अनुसार, जुनार फल विशेषगरी तल्लो भागबाट कुहिन थालेको र कुहिएको फल भुईँमा झरेको पाइएको छ। अवलोकन गरिएका क्षेत्रमा आलेगाउँमा रोगको प्रकोप बढी देखिएको उनले बताए। चौधरीले किसानलाई बगैँचा सफा राख्न, झरेका फल तुरुन्त सङ्कलन गरी खाल्डोमा पुर्न निर्देशन दिइएको जानकारी दिए।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम इकाइ प्रमुख यामकुमार श्रेष्ठका अनुसार, प्रारम्भिक विश्लेषणले यो ढुसीजन्य रोग (फङ्गल इन्फेक्सन) हुनसक्ने देखिएको छ। रोगको सही पहिचानका लागि नमुना नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) पठाइएको उनले बताए। “प्रारम्भिक लक्षणका आधारमा ढुसीको प्रभाव अनुमान गरिएकाे छ, तर वैज्ञानिक पुष्टि पछि मात्रै निश्चित कारण बताउन सकिन्छ,” श्रेष्ठले भने।

यद्यपि, उनका अनुसार गोलञ्जोरका केही बगैँचामा नयाँ रोग देखिए पनि अन्य स्थानमा विगतका रोग र कीराको समस्या नियन्त्रण हुँदै गएको छ।

गोलञ्जोर गाउँपालिकाका प्रमुख शङ्कर राज बरालले जुनार खेतीलाई पालिकाको प्राथमिकतामा राखिएको उल्लेख गर्दै भने, “हाम्रो भूमि जुनार उत्पादनका लागि अत्यन्त उपयुक्त छ, तर प्रत्येक वर्ष रोग र किराको समस्या देखिँदा उत्पादन घट्दै आएको छ। यसका लागि प्रदेश र संघीय सरकारसँग दीर्घकालीन समाधानका उपाय खोज्दैछौँ।”

कृषकका अनुसार, सरकारी तवरबाट केही प्रयास भए पनि रोग नियन्त्रण र जुनार प्रवर्द्धनका लागि आवश्यक वैज्ञानिक तथा प्राविधिक सहयोग अझै पर्याप्त छैन।

कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइका तथ्याङ्कअनुसार, सिन्धुली जिल्लामा १,३१८ हेक्टरभन्दा बढी क्षेत्रफलमा जुनार र सुन्तलाको खेती हुँदै आएको छ। तीमध्ये ७९४ हेक्टर क्षेत्रमा फल उत्पादन भइरहेको छ। जिल्लाबाट वार्षिक करिब ५२ करोड रुपैयाँ बराबरको जुनार र सुन्तला बिक्री हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्