
काठमाडौँ । नेपाल टेलिकमले मनाङ र दोलखा जिल्लाका दुर्गम तथा पर्यटकीय क्षेत्रमा मोबाइल सेवा विस्तार गरेको छ ।
हिमालपारीको जिल्ला भनेर चिनिने मनाङको प्रसिद्ध तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी असोज ३१ गतेदेखि 2G र 4G मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो । करिब ४३५० मिटरको उचाइमा पर्ने तिलिचोताल जाने रुटमा माइक्रोवेभ प्रविधिमार्फत सेवा सञ्चालन गरिएको हो ।
सेवा सुरु भएपछि खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती हुँदै तिलिचो ताल क्षेत्रका स्थानीय बासिन्दा र पदयात्रीहरूले सञ्चारमा सहजता पाउने भएका छन् । यसले पर्यटन, होटल तथा व्यवसायिक क्षेत्रका व्यक्तिहरूलाई डिजिटल भुक्तानी प्रणालीमा जोडिन पनि सहयोग पुर्याउने बताइएको छ । साथै, पदयात्राका क्रममा स्वास्थ्य समस्या वा अन्य आपतकालीन अवस्थामा उद्धार कार्यमा पनि टेलिकमको सेवा उपयोगी हुने स्थानीयको विश्वास छ ।
यस्तै, दोलखाको च्छो–रोल्पा ट्रेकिङ रुटमा पर्ने नागाउँमा असोज २८ गतेदेखि V-SAT प्रविधिमार्फत भ्वाइस सेवा सुरु गरिएको छ । ४१९० मिटर उचाइमा रहेको यस साइटबाट बेदिङ–ना रुट, नागाउँ, च्छो–रोल्पा, दूधकुण्ड, यालुङ बेसक्याम्प र टासी लेप्चा पास बेसक्याम्पसम्मका स्थानीय र पर्यटकले सेवा लिन सक्ने भएका छन् ।
कामदार अभाव र प्रतिकूल वातावरणका बीच नेपाल टेलिकमका प्राविधिक टोलीको लगनशील प्रयासका कारण दुर्गम क्षेत्रमा सेवा सञ्चालन सम्भव भएको हो ।
नेपाल टेलिकमले भौगोलिक रुपमा विकट र दुर्गम स्थानका नागरिकलाई पनि समान रूपमा दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्यसहित देशभर सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको जनाएको छ ।





