
नेपालगन्ज । विश्व खेलकुदमा ‘मिनी ओलम्पिक’ भनेर चिनिने कमनवेल्थ गेम्स–२०१० का स्वर्णपदक विजेता केन्याली धावक जोन केलाईलाई धारा नेपालगन्ज म्याराथनले सद्भावना दूत नियुक्त गरेको छ ।

केलाईले नेपालगन्ज म्याराथनको भगिनी रनिङ इभेन्ट ‘गौघाट ग्रीन रन’मा समेत सहभागिता जनाएका थिए । उनले विश्वप्रसिद्ध सिंगापुर, मुम्बई, ब्रसेल्स (न्यूजिल्यान्ड) र टोरन्टो वाटरफ्रन्ट (क्यानडा) म्याराथनमा समेत जित हात पारेका छन् । उनी शुक्रबार नेपाल छाड्दै छन् ।
नेपालमा रहँदा गरिएको संक्षिप्त कुराकानीमा उनले धारा नेपालगन्ज म्याराथनको सद्भावना दूतको जिम्मेवारी पाउनु आफ्नो लागि ‘खुसी र सम्मानको विषय’ भएको बताए ।

जलवायु सचेतनाको पहलको प्रशंसा
गौघाट ग्रीन रनमा सहभागिता जनाएका केलाईले आयोजकको जलवायु परिवर्तनबारे जनचेतना फैलाउने प्रयासको खुलेर प्रशंसा गरे । उनले भने, “उनीहरूले जलवायु परिवर्तन र यसको प्रभावबारे जनतालाई शिक्षित गर्ने सरल र शान्तिपूर्ण माध्यम रोजेका छन् । अब यो प्रयासलाई व्यवहारिक रूपमा अघि बढाउन वृक्षारोपण र प्लास्टिकको प्रयोग घटाउनेजस्ता काममा जनसहभागिता आवश्यक छ ।”
अन्तर्राष्ट्रिय म्याराथन धावक ल्याउने लक्ष्य
केलाईले धारा नेपालगन्ज म्याराथनलाई विश्वस्तरमा पुर्याउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनका अनुसार, “मैले विश्वका शीर्ष म्याराथन धावकलाई नेपाल ल्याउन समन्वय गर्नेछु, जसले गर्दा यो म्याराथनलाई भविष्यमा ‘गोल्ड लेभल’ म्याराथनमा रुपान्तरण गर्न सहयोग पुग्नेछ ।”
रनिङ क्लिनिक र प्रशिक्षणमा सहकार्य गर्ने तयारी
धारा नेपालगन्ज म्याराथनले आयोजना गर्ने प्रशिक्षण वा रनिङ क्लिनिकमा सहभागी हुन आफू सधैं तयार रहने बताउँदै उनले भने, “म हरेक वर्ष यहाँको प्रशिक्षण कार्यक्रममा आफ्नो समय समर्पित गर्न तयार छु ।”
एथलेटिक्स क्षेत्रमा आफ्नो अनुभवबारे उनले भने, “म एमेच्योरदेखि एलिट स्तरका खेलाडीलाई प्रशिक्षण दिन सक्छु, युवालाई प्रेरणा र परामर्श दिन सक्छु । साथै प्रतियोगिता आयोजना र व्यवस्थापनमा पनि सहयोग गर्न सक्छु ।”
नेपाल–केन्या सहकार्यको सम्भावना
केलाईले नेपालका धावकका लागि केन्यामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सकिने बताए । “केन्यामा व्यवस्थित प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर नेपाली खेलाडीलाई प्रत्यक्ष लाभ पुर्याउने अवसर छ,” उनले भने, “म यसका लागि निरन्तर समन्वय गर्न तयार छु ।”
त्यस्तै, उनले केन्याली रनिङ एकेडेमी र नेपालका खेल संस्थाबीच सहकार्यका लागि पुलको भूमिका खेल्ने प्रतिबद्धता पनि जनाए । “म धारा नेपालगन्ज म्याराथनमार्फत नेपाल र केन्याबीच अनुभव र संस्कृतिको आदानप्रदान कार्यक्रम सन्चालन गर्नेछु,” उनले भने ।
नेपालमा दौडप्रतिको सम्भावना
नेपालमा दौडको स्तर अझै न्यून भए पनि युवामा आकर्षण बढ्दो रहेको उनले उल्लेख गरे । “प्रेरणादायी वातावरण सिर्जना र स्थानीयस्तरमा धेरै प्रतियोगिता सञ्चालन गर्न सके यो खेल अझ सशक्त बन्छ,” उनले सुझाव दिए ।
धावकहरूलाई सन्देश
अन्त्यमा उनले भने, “नेपालमा एथलेटिक्सको भविष्य उज्यालो छ, तर प्राविधिक प्रशिक्षण र पूर्वाधारको कमी छ । त्यसैले आधारभूत क्षमता विकासमा जोड दिन जरुरी छ ।”
उनले धारा नेपालगन्ज म्याराथन व्यवस्थापन टोलीलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा पनि नेपालमा निरन्तर सहकार्य र उपस्थितिको प्रतिबद्धता जनाए ।





