
सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमार्फत ३६१ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिएको छ ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर रायमाझीका अनुसार बिहीबार सम्पन्न शिविरमा दुई दिनसम्म सञ्चालन भएको शल्यक्रिया कार्यक्रममा मोतियाबिन्दुका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको हो ।
असोज २५ गतेदेखि सञ्चालनमा आएको शिविरमा बागमती, बरहथवा, चन्द्रपुर (रौतहट) लगायत आसपासका क्षेत्रका एक हजार ७०४ जनाले आँखा परीक्षण गराएका थिए । तीमध्ये शल्यक्रिया आवश्यक ठहरिएका बिरामीको बुधबार र बिहीबार बागमती–१२ स्थित कर्मैया स्वास्थ्य चौकी भवनमा शल्यक्रिया सम्पन्न गरिएको थियो ।
७५ वर्षीया विवीकुमारी मोक्तानले दुवै आँखामा धमिलो देखिने समस्या भएकी बताउँदै गाउँमै निःशुल्क सेवा पाउँदा निकै खुशी लागेको बताइन् ।
नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती र बागमती नगरपालिकाको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । शिविरमा तिलगङ्गा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. श्याम ब्यासको नेतृत्वमा २२ जनाको चिकित्सक टोली खटिएको नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले जानकारी दिए ।
शिविर समापनको अवसरमा तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमतीको विधिवत उद्घाटनसमेत गरिएको छ । क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा स्थापना गरिएको सो केन्द्रबाट कम्प्युटर प्रणालीमार्फत आँखा परीक्षण, चश्मा निर्माण तथा वितरण, साथै मोतियाबिन्दु शल्यक्रियासम्मका सेवा उपलब्ध हुने नेपाल निर्देशक पुनम भण्डारीले बताइन् ।
समापन तथा उद्घाटन कार्यक्रममा बागमती नगरपालिकाका कार्यवाहक प्रमुख कृष्ण लामा, कार्यवाहक उपप्रमुख रुपा बम्जनलगायत स्थानीय प्रतिनिधिहरूको उपस्थित थियो ।





