पोखरामा ‘अपरेशन ३६५’ सञ्चालन, १०४ मोटरसाइकल कारबाहीमा



पोखरा । स्वरूप परिवर्तन (मोडिफाइड) र चर्को ध्वनिसहित मोटरसाइकल चलाउने विरुद्ध कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत हालसम्म १०४ वटा मोटरसाइकल कारबाहीमा परेका छन् ।

गत सोमबारदेखि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले संयुक्त रूपमा सुरु गरेको उक्त अपरेशनअन्तर्गत समाजमा आतङ्क फैलाउने, ध्वनि प्रदूषण गर्ने तथा जाँचका क्रममा प्रहरीसँग वादविवाद गर्ने २८ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, १६ जना चालकलाई सम्झाइबुझाइका साथ परिवारको जिम्मा लगाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार केसीका अनुसार, मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, स्वरूप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को आवाज निकाल्ने तथा रातको समयमा ध्वनि प्रदूषण गर्ने चालक र सवारीसाधनलाई नियन्त्रणमा लिई कानूनी कारबाही गरिएको हो ।

समाजको शान्ति, सुरक्षा र सुव्यवस्था खलबलिने गतिविधि बढ्दै गएपछि प्रहरीले ‘अपरेशन ३६५’ सञ्चालन गरेको हो । उक्त अभियान निरन्तर सञ्चालन हुने प्रहरीले जनाएको छ ।

प्रहरीले यस्ता स्वरूप परिवर्तन गरिएका वा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ । सूचना दिने व्यक्तिको गोपनीयता सुरक्षित राखिने समेत जनाएको छ ।

गत वर्ष पनि प्रहरीले यस्तै अभियान सञ्चालन गरी यस्ता मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार स्वीकृति बिना साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, ह्याण्डल, इञ्जिन वा चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने पार्टपूर्जा जडान गरेमा रु १५ हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्