
चितवन । जाडो मौसम सुरु हुन नहुँदै हिमालपारिबाट चरा नेपाल झर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सिमसार क्षेत्रमा अहिले हाँस प्रजातिका चरा देखिन थालेका हुन् ।
हरेक वर्ष जस्तै यसपटक पनि अक्टोबरदेखि चरा नेपाल आइपुग्न थालेका छन् । गर्मी सुरु भएपछि ती चरा पुनः आफ्नो मूल बासस्थान फर्कने गर्छन् । नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष बासु बिडारीका अनुसार साइबेरिया, मङ्गोलिया, तिब्बत, रसिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान र चीनलगायतका देशबाट चरा नेपाल आउन थालेका हुन् ।
बिडारीका अनुसार ती आगन्तुक चरा कालीगण्डकीको खोँच हुँदै चितवनसम्म आइपुगेका छन् । हाल हाँस प्रजातिका कर्याङकुरुङ, चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला, गैरी, बाज, चिललगायतका चरा चितवन क्षेत्रमा देखिन थालेका छन् । त्यस्तै, वनमा आश्रित प्रजातिमा चाचर, चुइया र भारद्वाज पनि आएका छन् । नदी किनार, तालतलैया र सिमसार क्षेत्रमा यस्ता चरा बाक्लो रूपमा देखिन थालेका छन् ।
उनका अनुसार नेपाल बाहिरबाट १२ देखि १५ हाँस प्रजातिका चरा हरेक वर्ष नारायणी, राप्ती र रिउखोला क्षेत्रमा आउने गर्छन् । जाडो बढ्दै गएपछि नेपालकै हिमाली क्षेत्रका चरा मध्यम पहाडतिर, र मध्यम पहाडका चरा तराईतिर सर्ने गर्छन् ।
नेपालमा हालसम्म १५० प्रजातिका चरा आगन्तुकका रूपमा दर्ता भएका छन् । यी चराहरू छ महिनापछि बच्चा कोरल्ने समयमा दक्षिणबाट उत्तरतर्फ फर्कने गर्छन् । पृथ्वीको उत्तरी भागमा दिन छोटो र रात लामो हुने भएकाले चर्न र आहारा खोज्न कठिन हुने हुँदा ती चरा नेपालतिर झर्ने गरेको विज्ञहरूले बताएका छन् ।
‘बर्ड एजुकेसन सोसाइटी’ चितवनका अध्यक्ष विजय गिरीका अनुसार दसैँको समयमा परेको वर्षासँगै नदी तटीय क्षेत्रमा आगन्तुक चरा देखिन थालेका हुन् । उनका भनाइमा चितवन राष्ट्रिय निकुञ्ज चराका लागि उत्कृष्ट बासस्थान हो ।
निकुञ्ज हुँदै बग्ने राप्ती, रिउ र नारायणी नदीसँगै निकुञ्जभित्रका तालतलैया र वन क्षेत्रमा यी चरा रमाउने गर्छन् । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वनहरू पन्छी विचरणका लागि महत्वपूर्ण क्षेत्र मानिन्छन् । नेपालमा ९०२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा मात्रै ६५२ प्रजातिका चरा दर्ता भएका छन् ।





