
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको माग तत्काल सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएकी छन् । उनले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाउँदै समस्या शीघ्र समाधानका लागि आवश्यक कदम चाल्न र प्रगतिबारे जानकारी गराउन आदेश दिइन् ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले आन्दोलनको विषय बुझेर तुरुन्त समाधान हुने गरी कार्ययोजना बनाउन निर्देशन दिँदै दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु अनुचित रहेको बताइन् । उनले चेतावनी दिँदै भनिन्, “यदि समस्या समयमा समाधान भएन भने दक्ष नर्सहरू विदेश पलायन हुने जोखिम बढ्छ ।”
पाँचौँ तह बराबरको पारिश्रमिकको माग राख्दै कास्कीस्थित मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू हाल आन्दोलनमा रहेका छन् । मन्त्रालयले गत मंसिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक रु ३४ हजार ७३० निर्धारण गरेको भए पनि कार्यान्वयन नहुँदा उनीहरू असन्तुष्ट बनेका हुन् ।





