चितवनमा फूल र माला आयात रोक्न माग



चितवन । फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले जिल्लामा फूल र माला आयात रोक्न माग गरेको छ । तिहार पर्वलाई लक्षित गर्दै शाखाले शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै स्थानीय उत्पादन पर्याप्त भएकाले बाहिरी जिल्लाबाट आयात गर्न आवश्यक नभएको जनाएको हो ।

एसोसिएसनका सचिव सुलभ श्रेष्ठका अनुसार जिल्लामा करिब ४० बिघा क्षेत्रफलमा फूल उत्पादन तयार छ । उनले भने, “चितवनमा तिहारका लागि करिब तीन लाख माला आवश्यक पर्छ, जुन स्थानीय उत्पादनले सहजै पूर्ति गर्न सक्छ । त्यसैले आयातित फूल र प्लास्टिकजन्य माला रोकिनुपर्छ ।”

ज्ञापनपत्रमा बजार अनुगमन गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरिएको छ । यस वर्ष एसोसिएसनले प्रत्येक मालाको मूल्य रु १०० कायम गरेको छ ।

अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाले आयातित मालामा प्रायः सुतरीको धागो प्रयोग गरिने र ती फूलहरू क्वारेन्टाइन पास नगरी ल्याइने गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले स्थानीय उत्पादनको संरक्षणका लागि व्यवसायीहरू स्वयम् सक्रिय हुनुपर्नेमा जोड दिए । उनले आयातित फूलमाला रोक्न तथा प्रतिबन्धित वस्तुको बिक्री–वितरणमा संलग्नहरूलाई कारबाही गर्न प्रशासन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्