
नेपाल बक्सिङ महासंघको विशेष साधारण सभा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष राम अवालेको अध्यक्षतामा सम्पन्न सभामा देशभरका १२४ प्रतिनिधिहरूले सहभागिता जनाए ।
उद्घाटन सत्रमा सदस्य–सचिव घिसिङले बक्सिङ खेलको गौरवशाली इतिहास उल्लेख गर्दै यस खेललाई अझ योजनाबद्ध रूपमा अघि बढाउन सबैलाई आह्वान गरे । कार्यक्रममा पूर्वअध्यक्षहरू, खेल पत्रकार, क्लब प्रतिनिधि तथा विभिन्न जिल्लाका संघ प्रतिनिधिहरूको उपस्थिती थियो ।
महासचिव मान भण्डारीले गत दुई वर्षमा महासंघले सम्पन्न गरेका गतिविधि र आगामी योजना प्रस्तुत गरे भने कोषाध्यक्ष गौतम सुजखुले आर्थिक प्रतिवेदन पेश गरे ।
साधारण सभाको मुख्य एजेन्डा वर्ल्ड बक्सिङ सदस्यताका लागि विधान संशोधन रहेको थियो, जसलाई सहभागीहरूले सर्वसम्मत समर्थन गरे । महासंघका सूचना अधिकारी तथा सचिव पुष्करराज पन्तका अनुसार प्राप्त लिखित तथा मौखिक सुझावहरू कार्यान्वयनमा ल्याइनेछ ।
अध्यक्ष अवालेले छोटो समयमा पनि व्यापक सहभागिता जनाएर कार्यक्रम सफल बनाएकोमा सबैप्रति आभार व्यक्त गर्दै बक्सिङ खेललाई अझ सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाए ।





