खेलाडी र प्रशिक्षकको स्वास्थ्य उपचारमा राखेप–नाम्स सहकार्यकाठमाडौँ, असोज ३० गते ।



राष्ट्रिय खेलकुद परिषद् (राखेप) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) बीच खेलाडी तथा प्रशिक्षकका लागि विशेष स्वास्थ्य सेवा उपलब्ध गराउने सहकार्य भएको छ । सम्झौता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकले नाम्स, वीर अस्पतालमा स्वास्थ्य सेवा र उपचारमा विशेष छुट पाउने भएका छन् ।

राखेपमा आयोजित कार्यक्रममा सदस्य–सचिव टंकलाल घिसिङ र नाम्सका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरे । खेलाडी र प्रशिक्षकलाई सहज सेवाका लागि सम्पर्क अधिकृत तोक्ने निर्णय गरिएको छ । पाँच वर्षका लागि भएको यो सम्झौता आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ ।

११ वटा सर्तहरू समेटिएको सहकार्य अन्तर्गत नाम्सले खेलकुदसँग सम्बन्धित प्राविधिक तथा कर्मचारीहरूलाई पनि स्वास्थ्य सुविधा प्रदान गर्नेछ । खेलाडीहरूले ल्याब परीक्षण, ओपीडी, एक्स–रे, भिडियो एक्स–रे, अपरेसन, एमआरआई, सिटी स्क्यान लगायतका सेवामा अस्पतालको मूल्य सूचीअनुसार छुट पाउनेछन् ।
ओलम्पियनले अस्पतालका सेवामा ८० प्रतिशतसम्म, एसियाली तथा दक्षिण एसियाली खेलमा पदक विजेताले ६० प्रतिशत, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले ५० प्रतिशत र राखेपका कर्मचारीले ४० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

उपचारका साथै नाम्सले राखेपद्वारा आयोजित प्रतियोगितामा स्वास्थ्य शिक्षा, प्राथमिक उपचार, एन्टी–डोपिङ, फिजियोथेरापी तथा पोषणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

कार्यक्रममा सदस्य–सचिव घिसिङले यो सहकार्यले नेपाली खेलकुदका लागि नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरे । उनले खेलाडीलाई आत्मविश्वासका साथ प्रशिक्षण र प्रतिस्पर्धा गर्न प्रेरणा दिने बताए । त्यस्तै, नाम्सका उपकुलपति प्रा.डा. बस्नेतले खेलकुदले नै स्वस्थ जीवनको जग बसाउने भएकाले यो सहकार्यले राष्ट्रिय गौरव बढाउने बताए ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहता, नाम्सका निर्देशक डा. दिलीप शर्मा, डा. ज्ञानेन्द्रविक्रम शाह, तथा राखेपका निर्देशक दीपक बिष्टलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्