
नेपालगन्ज, असोज ३० । नेपालगन्ज स्वीमिङ क्लब बाँकेले दोस्रो “नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५” आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी कार्तिक १४ र १५ गते नेपालगन्ज रंगशाला परिसरस्थित पौडी पोखरीमा हुने क्लबले जनाएको छ।
बुधबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवराज न्यौपानेले देशभरबाट करिब २०० भन्दा बढी खेलाडी सहभागी हुने जानकारी दिए। विद्यालय तह लक्षित प्रतियोगितामा अन्डर–८, १०, १२, १४ र १७ वर्षका समूहका साथै खुला उमेर समूहबीच प्रतिस्पर्धा हुने उनले बताए। साथै, कुनै संघ–संस्था वा क्लबले पनि संस्थागत रूपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताअन्तर्गत अन्डर–८ समूहका खेलाडीहरूले २५ मिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् भने अन्डर–१० समूहका खेलाडीहरूले ५० मिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै अन्डर–१२ र १४ समूहका खेलाडीबीच ५० र १०० मिटरका इभेन्टहरू हुनेछन्। खुला उमेर समूहका खेलाडीहरूले भने २०० र ४०० मिटर दूरीका विभिन्न प्रतिस्पर्धामा भाग लिनेछन्। कुल ५६ वटा इभेन्टहरू हुने क्लबले जनाएको छ।
बाँके बाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीका लागि खेल अवधिभर निःशुल्क खाजा, खाना र बसोबासको व्यवस्था गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिए। खेलाडीहरूले क्लबले उपलब्ध गराउने गुगल फाराम भरेर आवेदन दिन सक्ने छन्, जसको शुल्क रु १,५०० तोकिएको छ।
नेपाल पौडी संघको केन्द्रीय वार्षिक कार्यतालिका अनुसार हुने भएकाले प्रतियोगिताको नतिजालाई राष्ट्रिय रेकर्डको मान्यता पनि प्राप्त हुनेछ। उत्कृष्ट पुरुष र महिला खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने पौडी प्रशिक्षक चन्दुराम चौधरीले बताए।
नेपालमै गर्मी बढी हुने सहर नेपालगन्जमा स्वीमिङ खेलप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गइरहेको क्लबले जनाएको छ। प्रतियोगितालाई लुम्बिनी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद्, विभिन्न बैंक, अस्पताल, व्यापारिक प्रतिष्ठान तथा खेलप्रेमी उद्यमीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतियोगिता आयोजना गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।





