भ्रष्टाचारविरुद्धको अभियानलाई कांग्रेसको एजेन्डा बनाउन धनराज गुरुङको प्रस्ताव |



काठमाडौँ, असोज ३० । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालदेखि यताका सबै लाभका पदमा पुगेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्नुपर्ने प्रस्ताव पेस गर्नुभएको छ ।

बिहीबार बिहान ९ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको कार्यसम्पादन समिति बैठकमा उपसभापति गुरुङले सुशासन स्थापनाका लागि सो प्रस्ताव प्रस्तुत गर्नुभएको हो । उहाँले उक्त प्रस्तावलाई आगामी केन्द्रीय समितिको बैठकमा एजेन्डा बनाएर लैजानुपर्ने सुझाव पनि दिनुभयो ।

गुरुङले २०८० साल चैत २३ गते नै प्रतिनिधिसभामा सो प्रस्ताव दर्ता गर्नुभएको थियो । तर, अहिलेसम्म त्यसमा कुनै पहल नभएको उहाँको भनाइ छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नेताहरूको सम्पत्ति छानबिनको माग उठेपछि यो विषय फेरि चर्चामा आएको हो ।

उहाँले यसअघि पनि पार्टीभित्रै यो मुद्दा पटक–पटक उठाए पनि बेवास्ता भएपछि अन्ततः प्रतिनिधिसभामा औपचारिक रूपमा प्रस्ताव दर्ता गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनपछि अब पार्टीले नै यो एजेन्डा अगाडि बढाउनुपर्नेमा गुरुङले जोड दिनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्