
सिरहा । विदेशमा वर्षाैँ काम गरेर फर्किएका लहान नगरपालिका–३ का शिवजी महतो अहिले आफ्नै गाउँमा फूलखेतीबाट वार्षिक लाखौँ रुपैयाँ कमाइ गर्दै छन् । भारतका विभिन्न सहरमा लामो समय पसिना बगाएका उनले १४ वर्षअघि दुई कट्ठा जग्गाबाट सुरु गरेको फूल व्यवसाय अहिले दुई बिघा क्षेत्रमा विस्तार गरेका छन् ।
महतोले मुख्यतया तिहार र विवाहको सिजनलाई लक्षित गर्दै मखमली, सयपत्रीलगायतका फूल उत्पादन गर्छन् । “नर्सरीको व्यापार वर्षको केही महिना मात्र हुने भएकाले फूलखेती सुरु गरेको हुँ,” उनले भने, “अहिले फूल र नर्सरी दुवैबाट राम्रै आम्दानी भइरहेको छ ।”
हाल महतोले आफ्नो नर्सरीमा लिची, आँप, सुनकागतीलगायतका झण्डै ६० हजार बिरुवा उत्पादन गर्दै आएका छन् । फूलखेतीबाट मात्रै वार्षिक करिब रु २५ लाख आम्दानी हुने उनको भनाइ छ । साथै, उनले १० जनालाई रोजगार पनि दिएका छन् ।
लहानमा व्यावसायिक रूपमा फूलखेती सुरु गर्ने पहिलो व्यक्ति मानिने महतो भन्छन्, “विदेशमा जति मेहनत गरिन्छ, त्यति मेहनत यहाँ गरे घरमै बसेर राम्रो कमाइ गर्न सकिन्छ ।” कृषिमा पुर्याएको योगदानका लागि उनलाई लहान नगरपालिकाले दुई पटक र कृषि ज्ञान केन्द्र सिरहाले दुई पटक ‘उत्कृष्ट कृषक’को सम्मान प्रदान गरिसकेको छ ।
“पूर्वमा काकरभिट्टादेखि पश्चिममा दाङसम्म फूलको माग पाइन्छ,” महतोले बताए, “मागअनुसार प्याकिङ गरेर बसमार्फत पठाउने गर्छु ।” आगामी तिहारमा उनले रु १५ लाख बराबरको फूल बिक्री गर्ने लक्ष्य राखेका छन् । तर हालैको लगातार वर्षाले मखमलीमा डढुवा रोग देखिएकाले उत्पादनमा केही असर पर्ने उनको अनुमान छ ।
यस वर्षदेखि महतोले लहान–१३ मा एक बिघा क्षेत्रफलमा केराखेती पनि सुरु गरेका छन् । निरन्तर लगनशीलता, परिश्रम र प्रतिबद्धताका कारण उनी यस क्षेत्रका अन्य किसानका लागि प्रेरणाको स्रोत बनेका छन् ।





