
दाङ । दाङका किसान अहिले बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त छन् । दसैँ सकिएसँगै तिहार नजिकिँदै गर्दा देउखुरीसहित जिल्लाका विभिन्न क्षेत्रमा धान काट्ने चटारो बढेको छ ।
लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार साँझ पाँच बजेसम्म खेतमै धान काट्दै थिइन् । उनले भनिन्, “अहिले मौसम खुला छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुन्छौं ।”
उनका अनुसार देउखुरी क्षेत्रमा सिँचाइ सुविधा पुगेकाले समयमा रोपाइँ भएको र त्यसकै परिणामस्वरूप धान छिट्टै पाकेको हो । “दसैँलगत्तै हामीले काट्ने, सुकाउने र दाइँ गर्ने काम सुरु गरिसकेका छौं,” उनले थपिन् ।
गत हप्ताको लगातार वर्षाले केही धानमा क्षति पुर्याए पनि ठूलो नोक्सानी हुन नपरेको किसानको भनाइ छ । चौधरीले भनिन्, “अहिले फेरि पानी परे ठुलो क्षति हुने डरले बिहानदेखि बेलुकासम्म खेतमै धान काटिरहेका छौं ।”
लमहीकी चौधरी मात्र होइन, देउखुरीका अधिकांश किसान यस्तै व्यस्त छन् । खेत–खेतमा मानिसहरू झुन्डिएका छन् । कतिपय किसानले काटेको धान सडकछेउमै सुकाउन थालेका छन्, कतै थ्रेसर चल्दैछ ।
लमही नगरपालिका–३ की ६० वर्षीया सावित्रा भण्डारी भन्छिन्, “मौसम फेरिएर पानी परे धान बिग्रिन्छ । वर्षभरको खाना त्यसैमा निर्भर हुन्छ । त्यसैले तिहारका अरू काम छोडेर सबै जना खेतमै धान काट्न लागेका छौं ।”
दाङको देउखुरी क्षेत्र मात्र होइन, घोराही र तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण, शान्तिनगर र बबई गाउँपालिकामा पनि धान पाकेर पहेँलिएको छ । दङ्गीशरण गाउँपालिका–३ रावत गाउँकी माइली चौधरीले तीन बिघा जमिन भाडामा लिएर खेती गरेकी छन् । “पानी पर्छ कि भनेर डर लाग्छ, त्यसैले बिहानैदेखि बेलुकासम्म खेतमै हुन्छु,” उनले भनिन् ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार यस वर्ष जिल्लामा ३७ हजार २२५ हेक्टरमा धानखेती गरिएको छ । किसानले सावित्री, राधा–४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस–३१२ लगायतका वर्णशङ्कर जातका धान रोपेका छन् । कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाइएको केन्द्रले जनाएको छ ।





