
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स’ प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान कार्य सुरु गरेको छ ।
सो प्रणालीको औपचारिक सुरुवात वडा नं २६ लैनचौरबाट गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा वडाध्यक्ष एवं कामपाको सुशासन समिति संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गरे । वडाले गत आर्थिक वर्ष २०८१/८२ मै सार्वजनिक खरिद प्रक्रिया सम्पन्न गरेपछि यो प्रविधि जडान थालिएको हो ।
डिजिटल ठेगाना प्रणालीअन्तर्गत अल्का बस्ती मार्ग र लैनचौर मार्ग हुँदै घरघरमा ठेगाना प्लेट जडान गरिनेछ । कामपाले अघिल्ला दुई दशकदेखि प्रयोगमा रहेको ‘मेट्रिक’ ठेगाना प्रणालीलाई प्रविधि–मैत्री स्वरूपमा रूपान्तरण गर्दै यो नयाँ प्रणाली सुरु गरेको हो ।
वडाध्यक्ष तिवारीका अनुसार पुरानो ठेगाना र बाटोका नाम यथावत् राखी नयाँ प्लेटमा ‘क्युआर कोड’ र एनएफसी चिप्स समावेश गरिएको छ । जडान गरिएका प्लेटमा स्थानीय नेपाली कोडसँगै ‘युनिभर्सल गुगल प्लस कोड’ पनि समावेश गरिएको छ ।
घरधनीले प्लेटको फोटो पठाएपछि ठेगाना स्वतः दर्ता हुने र क्युआर स्क्यानमार्फत सो घरको ठेगाना लोकेसन सहजै पत्ता लगाउन सकिने प्रणाली विकास गरिएको छ । ‘लेजर’ प्रविधिबाट तयार पारिएको ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बरहरू समेत समावेश गरिएका छन् । प्रत्येक प्लेटमा रहेको आइडी नम्बर अद्वितीय (युनिक) हुने र अफलाइन मोडमै पनि खोज्न सकिने सुविधा रहेको छ ।
साथै, प्लेटमा राखिएको क्युआर कोड प्रयोग गरी पाहुनाले ‘डोर बेल’का रूपमा पनि प्रयोग गर्न सक्नेछन् । यस प्रणालीमार्फत फोहर व्यवस्थापन, सर्वेक्षण, सूचना आदान–प्रदानलगायत कार्य छिटो र न्यून लागतमा गर्न सकिने जनाइएको छ ।
वडाध्यक्ष तिवारीले भने, “यो प्रणाली विद्युतीय शासनतर्फको ठोस कदम हो । कामपाले विद्युतीय डेलिभरी, हाजिरी, बायोमेट्रिक्स, सिफारिस र पत्राचारलगायतका सेवाहरू डिजिटल माध्यमबाट सञ्चालन गरिसकेको छ ।”
वडाका सचिव केदार रिमालका अनुसार यो डिजिटल घर नम्बर प्रणालीले करदाता पहिचान, राजस्व सङ्कलन र सेवाप्रवाहलाई अझ प्रभावकारी र छरितो बनाउन सहयोग पुर्याउनेछ ।





