
काठमाडौँ । नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरेको छ ।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयसस र दक्षिण–पूर्वी एसिया क्षेत्रका कार्यवाहक क्षेत्रीय निर्देशक डा. क्याथरिना बोहमले मङ्गलबार श्रीलङ्कामा आयोजित समारोहमा नेपालका राजदूत डा. पूर्णबहादुर नेपालीलाई उक्त अवार्ड हस्तान्तरण गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार कोलम्बोमा जारी डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८औँ बैठकका क्रममा यो सम्मान प्रदान गरिएको हो ।
नेपालका महिला स्वास्थ्य स्वयंसेविकाले सामुदायिक स्वास्थ्य सेवा विस्तार, जनचेतना अभिवृद्धि र जनस्वास्थ्य सुधारमा पुर्याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप डब्लुएचओले यो अवार्ड प्रदान गरेको जनाइएको छ ।
सूचना अधिकारी केसीका अनुसार सो सम्मानले नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको निःस्वार्थ सेवा, समर्पण र स्वास्थ्य क्षेत्रमा उनीहरूको भूमिकाको उच्च मूल्याङ्कन गरेको छ ।





