तिल्केनी–सिमलगोला सडक सञ्चालनमा, झापा आवागमन सहज |



इलाम । मेची राजमार्गको विकल्पका रूपमा तिल्केनी–सिमलगोला सडकखण्ड सञ्चालनमा आएको छ । माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण भएपछि उक्त सडक सवारीसाधनका लागि खुला गरिएको हो ।

सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईका अनुसार जोगमाई खोलामा १० वटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्टका तीन टुक्रा विच्छ्याएर पानी कटाई अस्थायी डाइभर्सन तयार गरिएको छ । ‘आज साँझदेखि साना सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गर्न थालिएको छ,’ उनले बताए ।

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ को इलाम–राजदुवाली सडक बाढीले अवरुद्ध भएपछि वैकल्पिक रूपमा तिल्केनी–सिमलगोला सडकखण्ड सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् । गत असोज १८ गतेको बाढीले जोगमाई खोलाको बेलिब्रिज बगाएपछि अस्थायी डाइभर्सन निर्माण गरिएको हो ।

१२ दिनपछि वैकल्पिक सडक सञ्चालनमा आएपछि इलाम, पाँचथर र ताप्लेजुङबाट झापा झर्ने यात्रु र यातायात व्यवसायीलाई सहज भएको छ । इलाम सदरमुकामको तिल्केनीदेखि गोदकसम्मको १२ किलोमिटर लामो यो सडक तत्कालका लागि मुख्य वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको छ ।

तर, तीव्र मोड र साँघुरोपनाका कारण ठूला तथा मालबाहक सवारीसाधन सञ्चालनका लागि उपयुक्त वैकल्पिक मार्ग अहिलेसम्म पहिचान हुन नसकेको प्रमुख जिल्ला अधिकारी नेपालले बताइन् । हालैको पहिरोका कारण इलाम र झापाबीच सडक सञ्जाल १२ दिनदेखि अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्