मुस्ताङमा १४ जिल्लाका किसानले सिक्दै फूलफूलखेती |



मुस्ताङ । १४ जिल्लाका किसान मुस्ताङ आइ फूलफूलखेती र नर्सरी व्यवस्थापनका सीप सिक्दै छन् । शीतोष्ण बागवानी विकास केन्द्र, घरपझोङ–२ मार्फामा मंगलबारदेखि सुरु भएको ‘गुणस्तरीय बिरुवा प्रसारण तथा नर्सरी व्यवस्थापन’ विषयक तीनदिने तालिममा विभिन्न जिल्लाका १८ किसान सहभागी भएका हुन् ।

केन्द्रले सञ्चालन गरेको यो तालिममा सहभागी किसानलाई सैद्धान्तिक र व्यावहारिक रूपमा कृषिसम्बन्धी ज्ञान दिइँदैछ । बागवानी, फलफूल तथा तरकारी उत्पादनका लागि मुस्ताङको यो केन्द्र क्रमशः देशभरका किसानका लागि महत्त्वपूर्ण कृषि प्रशिक्षण केन्द्रको रूपमा विकसित हुँदै आएको छ ।

केन्द्रका प्रमुख पद्मनाथ आत्रेयका अनुसार हरेक वर्ष जिल्लाभित्र र बाहिरका किसानलाई लक्षित गरी फूलफूलखेती र नर्सरी व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिन्छ । यस वर्षको तालिममा पूर्वको सङ्खुवासभादेखि सुदूरपश्चिमको दार्चुलासम्मका किसान सहभागी छन् । म्याग्दीबाट तीन, बागलुङ र सल्यानबाट दुई–दुई, र धादिङ, बझाङ, दैलेख, कालिकोट, दार्चुला, नुवाकोट, उदयपुर, रुकुमपश्चिम, गोरखा, सङ्खुवासभा र रसुवाबाट एक–एक जना किसान सहभागी छन् ।

आत्रेयका अनुसार तालिमले कृषि प्रविधिको हस्तान्तरणका साथै मुस्ताङको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान पस्किँदै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउनेछ । सहभागी किसानले केन्द्रमा रहेका विभिन्न फलफूल र तरकारी बगैँचाको अवलोकनसँगै बिरुवा उत्पादन र नर्सरी व्यवस्थापनका विविध पक्षबारे व्यवहारिक ज्ञान हासिल गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्