छठपर्व नजिकिँदै जाँदा बाँसका सामग्रीको माग तीव्र



महोत्तरी । तिहार र छठपर्व नजिकिँदै गर्दा मधेसका महोत्तरीसहित मिथिला क्षेत्रमा बाँसका चोया र कप्टेराले बनेका परम्परागत सामग्रीको माग बढेको छ । छठपर्वमा चोखोनीतोसाथ पूजा सामग्री राख्ने र विधिपूर्वक प्रयोग गरिने डाली, छिटी, कनसुपा, नाङ्लो, चाल्नो र पङ्खा जस्ता बाँसका वस्तु अहिले हरेक बजारमा मागअनुसार बिक्री भइरहेका छन् ।

महोत्तरीका १५ स्थानीय तहका बस्तीका हटियामा यी सामग्रीका छुट्टै बजार जमेका छन् । जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, रामगोपालपुर, पिपरा, सीतापुर, औरही, बलवा र लोहारपट्टीलगायतका बजारमा अहिले बाँसका उत्पादनको व्यापार चहलपहल बढेको छ ।

मिथिलामा बिन र डोम समुदायले बाँसको चोया र कप्टेरा काढी परम्परागत रूपमा यी सामग्री बनाउने पेसा पुस्तौंदेखि गर्दै आएका छन् । भङ्गाहा–४ रामनगरका काशी मुखिया बिनका अनुसार “साधारण समयमा यी सामान खासै बिक्दैनन्, तर छठ र दीपावलीमा भने बाँसका भाँडाकुँडा अपरिहार्य हुने परम्पराले अहिले माग अत्यधिक छ ।”

पहिले दैनिक प्रयोगमा रहने यी वस्तु अहिले पर्वमा मात्र प्रयोग हुने हुँदा पुख्र्यौली सीप मर्ने अवस्थामा पुगेको उनी बताउँछन् । तथापि, यतिबेला बनाइने र बेचिने सामानबाट तीन–चार महिनाको गुजारा चल्ने बिन र डोम समुदायका पाका व्यक्तिहरूको भनाइ छ ।

बर्दिबास–१ की पारो मरिक भन्छिन्, “छठ र दीपावलीकै कमाइले केही महिनाको खर्च र नानीबाबुका चाहना पूरा गर्छौं ।”
यसैगरी, जलेश्वर–१ का रतन मरिकका अनुसार अहिले बाँस खोज्ने, फटाउने, चोया निकाल्ने र विभिन्न भाँडाकुँडा बनाउने काममा दिनरात व्यस्तता छ । यो चहलपहल छठपर्व सुरु हुने दिनसम्म निरन्तर रहने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्