फ्रिडम फाइटर ‘बी’ लाई भेट्रान फुटबल उपाधि



काठमाडौँ, असोज २९ ।
फ्रिडम फाइटर ‘बी’ ले पाँचौँ वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । बुधबार चावहिलमा सम्पन्न फाइनल खेलमा फ्रिडम ‘बी’ ले चावहिल स्पोर्ट्स क्लब ‘ए’ लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जित्यो ।

फ्रिडमकी कन्या गुरुङले निर्णायक गोल गरेकी थिइन् । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका फ्रिडमकै नरकुमार राई ‘म्यान अफ द म्याच’ घोषित भए ।

उपाधिसँगै फ्रिडम ‘बी’ ले नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता चावहिल ‘ए’ ले ५० हजार रुपैयाँमा सन्तोष मान्यो ।

प्रतियोगिताकी कन्या गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । चावहिल ‘ए’ का रोशज शाही उत्कृष्ट मिडफिल्डर, सचिन श्रेष्ठ उत्कृष्ट गोलरक्षक र सगुन श्रेष्ठ उत्कृष्ट डिफेन्डर बने । उत्कृष्ट खेलाडीहरूलाई जनही पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।

विजेताहरूलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष विराजजंग शाही, वडा अध्यक्ष विमलकुमार होडा, वडा सदस्य तथा प्रतियोगिता संयोजक सुरेश शाहीलगायतले पुरस्कार प्रदान गरेका थिए । असोज २५ गतेदेखि सुरु भएको सिक्स ए साइड स्वरूपको नकआउट प्रतियोगितामा २० टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्