मुस्ताङमा स्याउ उत्पादन रु एक अर्ब नाघ्यो



मुस्ताङ। मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेर रु एक अर्ब १० करोड पुगेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष सात हजार ६३६ मेट्रिकटन उत्पादन भएको हो।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङका अनुसार यस वर्ष उत्पादनको ८० प्रतिशत जिल्लाबाहिर पठाइसकिएको छ भने १० प्रतिशत जिल्लामै खपत भएको छ। बाँकी १० प्रतिशत अर्थात् ७६३ मेट्रिकटन स्याउ अझै हार्भेस्ट गर्न बाँकी छ।

जिल्लाभरि स्याउ उत्पादन ८३२ हेक्टर स्थानीय जात र ६० हेक्टर उच्च घनत्व हाइब्रिड जातमा फैलिएको छ। यसमा स्थानीय स्याउ ६ हजार ६९ मेट्रिकटन र हाइब्रिड १ हजार ५६७ मेट्रिकटन उत्पादन भएको छ। स्थानीय स्याउको मूल्य रु ७८ करोड ८९ लाख ७० हजार र हाइब्रिड स्याउको मूल्य रु ३१ करोड ३४ लाख रहेको छ।

प्रतिहेक्टर उत्पादनमा स्थानीय स्याउ १० दशमलव ४१ मेट्रिकटन र हाइब्रिड स्याउ २६ दशमलव १२ मेट्रिकटन पुगेको छ। गत वर्षको तुलनामा स्थानीय स्याउ प्रतिहेक्टर उत्पादकत्वमा सानो गिरावट देखिएको छ भने हाइब्रिड स्याउमा वृद्धि भएको छ।

गुरुङले बताएअनुसार तल्लो क्षेत्रमा स्थानीय स्याउ उत्पादनमा केही कमी आएको छ, तर माथिल्लो क्षेत्रमा असर परेको छैन। यस वर्ष स्याउ उत्पादन बढ्नुको मुख्य कारण उत्पादन क्षेत्र विस्तार हुनु हो। गत वर्ष ५६६ हेक्टर स्थानीय जात र ५० हेक्टर हाइब्रिड स्याउ उत्पादनशील क्षेत्र रहेकोमा यस वर्ष क्रमशः ५८३ र ६० हेक्टर पुगेको छ।

प्रतिक्रिया दिनुहोस्