
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेबाट बराह क्षेत्रसम्म मोटरबोट सेवा पुनः सञ्चालनमा आएको छ ।
गत असार महिनादेखि नदीमा पानीको बहाव बढेकाले रोकिएको जलयात्रा हाल पानी घटेसँगै पुनः सुरु गरिएको हो । अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा दक्षिणी क्षेत्रका बासिन्दा लामो पैदल यात्रा गर्न बाध्य भइरहेका थिए । अब भने मोटरबोट सञ्चालनसँगै यात्रामा सहजता आएको स्थानीय व्यवसायी मिलन राईले जानकारी दिए ।
उनका अनुसार अहिले कोप्चेबाट बराह क्षेत्रसम्म नियमित रूपमा मोटरबोट चल्न थालेको छ र पानी अझ कम भएमा जलयात्रा चतरा पुलसम्म पनि सम्भव हुने अपेक्षा गरिएको छ । जेटबोटमार्फत यात्रुहरू धरान, इटहरी, विराटनगरलगायत सहरहरूमा सहज रूपमा पुग्न थालेका छन् ।
पहिले तीन–चार घण्टा पैदल यात्रा गरेर चतरा पुग्नुपर्ने यात्रुले अब करिब १९ किलोमिटर दूरी २०–२५ मिनेटमै पार गर्न सक्ने भएका छन् । कोप्चे–बराह क्षेत्र बीचको भाडा रु ५०० र चतरा पुग्न रु ७०० तोकिएको छ ।
जेटबोट सेवाले बिरामीलाई छिटो सहरका अस्पतालमा पुर्याउन मद्दत गरेको स्थानीय लालबहादुर प्रधानले बताए । उनका अनुसार चाडपर्वको समयमा यो सेवा विशेष उपयोगी बनेको छ । “पहिले भोजपुर सदरमुकाम हुँदै तराई पुग्दा करिब २०० किलोमिटर यात्रा गर्नुपर्थ्यो, अहिले जलमार्गले त्यो दूरी छोट्याइदिएको छ,” उनले भने ।
हतुवागढी गाउँपालिकाले यो जलयात्रालाई पर्यटनसँग जोड्ने लक्ष्यसहित आवश्यक पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार, मोटरबोट सञ्चालनले भोजपुर र तराईका जिल्लाबीचको दूरी घटाउनुका साथै स्थानीय पर्यटन र आर्थिक गतिविधिमा समेत टेवा पुर्याउनेछ ।





