बैङ्क तथा वित्तीय संस्थाले सिएसआर रकम जेनजी आन्दोलन प्रभावितका हितमा खर्च गर्न पाउने |



काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतको रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रभावित व्यक्तिहरूको हितमा खर्च गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कले ‘बैङ्क तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधन अनुसार बैङ्क तथा वित्तीय संस्था र पूर्वाधार बैङ्कले सिएसआर रकम जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति तथा सहिदका परिवारको सहयोगका लागि खर्च गर्न सक्नेछन् ।

हालको व्यवस्थाअनुसार बैङ्क तथा वित्तीय संस्थाले आफ्नो खुद मुनाफाको कम्तीमा एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्न अनिवार्य छ ।

राष्ट्र बैङ्कले मार्गदर्शनमा थप स्पष्ट गर्दै उल्लेख गरेको छ, “जेनजी आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकको औषधि–उपचार खर्चका लागि, दोहोरो नपर्ने गरी उक्त अस्पताललाई सिएसआर रकम खर्च गर्न सकिनेछ ।”

त्यस्तै, आन्दोलनमा सहिद भएका व्यक्तिका परिवारमध्ये प्रत्यक्ष रोजगारी नभएका सदस्यको आय आर्जन क्षमता अभिवृद्धि गर्नका लागि नेपाल सरकार वा स्वीकृत सीपमूलक तालिम प्रदायक संस्थामार्फत तालिम उपलब्ध गराउने गरी सिएसआर रकम प्रयोग गर्न सकिने प्रावधान पनि मार्गदर्शनमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्