९७ वर्षे जसबहादुर खेवाङद्वारा गाउँलाई ‘भ्यू–टावर’ उपहार



पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडाका ९७ वर्षे जसबहादुर खेवाङले गाउँलाई उपहारस्वरूप भ्यू–टावर निर्माण गरेका छन् ।

५० वर्षअघि बेलायती सेनाबाट सेवा निवृत्त भएका खेवाङ लामो समयदेखि गाउँमै बस्दै सामाजिक क्षेत्रमा सक्रिय छन् । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नजिकै रहेको परेवाडाँडाबाट पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न भू–भागको दृश्यावलोकन गर्न सकिने भएकाले उनले रु १५ लाखको व्यक्तिगत लगानीमा भ्यू–टावर निर्माण गरेका हुन् ।

सो भ्यू–टावरको सोमबार खेवाङ स्वयं र याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले संयुक्त रूपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रम खेवाङकै ९७औँ जन्मदिनको अवसरमा आयोजना गरिएको थियो, जसमा स्थानीयवासी र गाउँपालिका–६ कार्यालयले उनलाई शुभकामना र सम्मान अर्पण गरे ।

वडाध्यक्ष अमृतबहादुर योङहाङका अनुसार खेवाङले गाउँमा उत्पन्न हुने समस्यामा आर्थिक तथा नैतिक सहयोग गर्दै आएका छन् । “उहाँले स्वास्थ्योपचार, काजकिरिया र सामाजिक पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्नुभएको छ,” उनले भने ।

उपाध्यक्ष मेन्याङ्बोले वयोवृद्ध खेवाङले बेलायतमा बस्ने अवसर त्यागेर गाउँको सेवामा समर्पित रहनु गाउँपालिकाका लागि गर्वको विषय भएको बताए । “उहाँको जीवनशैली नै प्रेरणादायी छ,” उनले थपे ।

विसं १९८६ असोज २७ गते ताप्लेजुङको थिङलाबूमा जन्मिएका खेवाङ विसं २००५ देखि पाँचथरको चित्तोकमा बस्दै आएका हुन् । सोही वर्ष भारतको दार्जिलिङस्थित जलपहाडमा बेलायती सेनामा भर्ती भएका उनी विसं २०३२ मा सेवा निवृत्त भएपछि स्थायी रूपमा गाउँ फर्किए । उनका दुई छोराहरु गणेशबहादुर र दलबहादुर पनि बेलायती सेनाबाट क्रमशः लेफ्टिनेन्ट र गोरखा मेजर पदमा सेवा समाप्त गरेका छन् ।

हाल उनका केही परिवारका सदस्य बेलायतमा छन् । तर खेवाङ स्वयं गाउँमै बस्न रुचाउँछन् । “मलाई गाउँको जीवनशैली मन पर्छ,” उनले भने, “धेरैले धरान, काठमाडौँ वा दार्जिलिङमा बस्न सुझाए पनि मलाई परेवाडाँडामै रमाइलो लाग्छ ।”

भ्यू–टावरमा विश्रामस्थल र मोबाइल चार्ज गर्ने सुविधा समेत उपलब्ध छ । यस टावरबाट तेह्रथुमको आठराई, ताप्लेजुङका विभिन्न गाउँ तथा पाँचथरतर्फ नेपाल–भारत सीमा चिवाभञ्ज्याङसम्मका दृश्य स्पष्ट देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्