कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ लिनु नपर्ने |



काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले गम्भीर प्रकारका रोग लागेका बीमितका लागि उपचारका क्रममा पुनः ‘रिफर’ (प्रेषण) लिनु नपर्ने व्यवस्था गरेको छ ।

बोर्डका अनुसार बीमित व्यक्ति एक पटक प्रथम सेवा विन्दुबाट रिफर भई सोही अस्पतालमा फलोअपका लागि जाँदा अब पुनः रिफर आवश्यक नपर्ने भएको हो । यसअघि बारम्बार रिफर लिनुपर्ने बाध्यताले बिरामीहरूलाई समस्या पर्ने गरेको थियो ।

बोर्डका उपसचिव पुण्यमाया गुरागाईँका अनुसार बोर्डअन्तर्गतका सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई यसबारे पत्राचार गरी जानकारी गराइसकिएको छ । उनका भनाइमा, “एक पटक रिफर भइसकेका बिरामीले त्यही अस्पतालमा फलोअप गर्न पुनः रिफर लिनु नपर्ने निर्णय गरिएको हो ।”

यो व्यवस्था क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल, एनिमिया, पार्किन्सन, अल्जाइमर लगायतका गम्भीर रोगहरूका बिरामीमा लागू हुनेछ ।

यस्तै, अति गरिबीको परिचयपत्र प्राप्त परिवार, अशक्त, अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटिल क्षयरोगका बिरामी र ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पनि एक पटक रिफर भइसकेपछि फलोअपका लागि पुनः रिफर लिनु नपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, आँखा स्वास्थ्यका जटिल समस्या, गर्भवती तथा सुत्केरी महिला, दम र गम्भीर मानसिक रोगका बिरामीका हकमा पनि सो व्यवस्था लागू हुने बोर्डले जनाएको छ ।

हाल देशभर ३७७ वटा प्रथम सेवा विन्दु र ९८ वटा रिफरल स्वास्थ्य संस्था स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सञ्चालनमा छन् । स्वास्थ्य बीमा बोर्डमा हाल ९४ लाख बीमित आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्