
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी शुल्क लिएर बोतल र जारको पानी बिक्री गर्ने व्यवसायीमाथि कारबाही गरिने चेतावनी दिएको छ ।
मंगलबार सार्वजनिक सूचनामार्फत विभागले प्लास्टिकका बोतल र जारमा प्याक गरिएको पानीका लागि मूल्य निर्धारण गरिएको उल्लेख गर्दै सोभन्दा बढी रकम असुल्नेहरूलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ अनुसार कारबाही गरिने जनाएको हो ।
विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र एक लिटर बोतलको पानीको खुद्रा मूल्य रु १६ र उपत्यकाबाहिर रु २० तोकिएको छ । त्यस्तै, २० लिटरको जारको पानी उपत्यकाभित्र रु ४७ र उपत्यकाबाहिर रु ६० निर्धारण गरिएको छ ।
यसअघि व्यवसायीहरूले मनपरी दरमा पानी बिक्री गर्दै उपभोक्तामाथि आर्थिक भार पार्दै आएको भन्दै विभागले मूल्य निर्धारण गरेको हो ।
विभागले तोकिएको मूल्यभन्दा बढी रकम लिने व्यवसायी देखिएमा नजिकको कार्यालय वा विभागमा जानकारी गराउन उपभोक्तालाई अनुरोध पनि गरेको छ ।





