
कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा आधुनिक ‘सिटी स्क्यान’ सेवा औपचारिक रूपमा सुरु गरिएको छ ।
मंगलबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले संयुक्त रूपमा सेवाको शुभारम्भ गरेका हुन् ।
सचिव रेग्मीले सिटी स्क्यान सेवा सुरु भएपछि स्थानीय नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने बताए । उनले भने, “प्रदेश सरकारले जनतासम्म विशेषज्ञ स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यका साथ यो सेवा थपेको हो, भविष्यमा पनि थप विशेषज्ञ सेवा विस्तार गरिँदै जानेछ ।”
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अस्पतालमा ६४ ‘स्लाइस’ क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरिएको हो । उनले लामो तयारीपछि सेवा सञ्चालनमा आएको जनाए ।
अस्पतालले गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससँग रु तीन करोड ८३ लाख ५५ हजार ५६० मा सिटी स्क्यान जडानका लागि सम्झौता गरेको थियो ।
व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भट्टले सेवा सुरु भएपछि बिरामीले अब सिटी स्क्यानका लागि अन्य अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे ।
वि.सं. २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको महाकाली अस्पताल २०३१ मा २५ श्ययाको जिल्ला अस्पतालका रूपमा र २०४३ मा ५० श्यैयाको अञ्चल अस्पतालका रूपमा विस्तार गरिएको थियो । सङ्घीयतापछि यस अस्पतालले प्रादेशिक अस्पतालका रूपमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।





