मुस्ताङ भन्सारमा दुई अर्ब २४ करोड राजस्व सङ्कलन



मुस्ताङ । नेपाल–चीन सीमा नाका कोरलानाकास्थित न्हेचुङ मुस्ताङ भन्सार कार्यालयले हालसम्म दुई अर्ब २४ करोड तीन लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको भन्सार कार्यालयले सोमबारसम्म उक्त राजस्व सङ्कलन गरेको हो । यसअघि २०८० कार्तिक २७ गतेदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीका लागि मात्र खुला गरिएको नाका अब सबैका लागि व्यापारिक कारोबारका रूपमा सञ्चालनमा आएको छ ।

भन्सार विभागले आवश्यक प्राविधिक तयारी र जनशक्ति व्यवस्थापन गरेपछि नाकामा व्यापारिक गतिविधि तीव्र भएको भन्सार प्रमुख रमेश खड्काले बताए । उनका अनुसार दसैँअघि नै कोरलानाकाबाट आयात–निर्यातमार्फत दुई अर्ब दुई करोड ९६ लाख रुपैयाँ राजस्व उठाइएको थियो ।

चीनबाट आयात भएका मालसामान र विद्युतीय सवारी साधनको भन्सार जाँच पास क्रम जारी छ । हालसम्म ३८७ वटा मालवाहक साधन र एक हजार १९४ वटा विद्युतीय कार भन्सार पास भएर नेपाल भित्रिएका छन् । नेपालतर्फबाट पाँच वटा स्थानीय उत्पादन तथा हस्तकला सामान ढुवानी गर्ने मालवाहक साधन चीन पठाइएका छन् ।

दसैँपछि थप २२९ वटा विद्युतीय कार र १२ वटा मालवाहकको भन्सार जाँच पास गरिएको कार्यालयले जनाएको छ ।

तर, समुद्री सतहबाट चार हजार ६१० मिटर उचाइमा अवस्थित कोरलानाका हिउँदमा सञ्चालन गर्न कठिन हुने देखिएको छ । मङ्सिरदेखि फागुन मसान्तसम्म अत्यधिक चिसो, हिउँ वर्षा, पानीका स्रोत जम्ने र सीमावर्ती बस्ती खाली हुने कारणले भन्सार सञ्चालनमा समस्या हुने भन्सार प्रमुख खड्काले बताए ।

उनका अनुसार न्हेचुङस्थित भन्सार कार्यालयमा आवश्यक भौतिक पूर्वाधार र वातावरणमैत्री सुविधा अभावमा हिउँदयाममा नाका सञ्चालनमा थप चुनौती रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्