तीन महिनापछि पुनः सञ्चालनमा चितवन मिल्क उद्योग



चितवन । दूध अभावका कारण तीन महिनादेखि बन्द रहेको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा आएको छ। डेरी र सहकारीहरूले दूध आपूर्ति गर्न थालेपछि उद्योगले असोजको पहिलो सातादेखि क्रमशः प्रशोधन कार्य सुरु गरेको हो।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार जेठको अन्तिम सातादेखि बन्द रहेको उद्योग असारमा दुई दिन मात्र सञ्चालनमा आएको थियो। अहिले भने दैनिक ८० हजारदेखि एक लाख लिटरसम्म दूध प्रशोधन गर्न थालिएको छ।

पराजुलीले भने, “डेरी र सहकारीहरूले दूध ल्याउन थालेका छन्। दसैँ बिदा बाहेक अहिले उद्योग नियमित रूपमा सञ्चालनमा छ।” दूध अभावका बेला उद्योगले आफैं दूध खरिद गरेर सञ्चालन गर्ने तयारी गरे पनि त्यसबेला देशभर नै दूधको संकट भएकाले सम्भव नभएको उनले बताए।

चितवन, मकवानपुर, नवलपरासी र रुपन्देहीलगायत जिल्लाबाट दूध सङ्कलन हुँदै आएको छ। किसानबाट सङ्कलित दूध बिक्री नभएपछि डेरी र सहकारीहरूले उद्योगमा ल्याएर प्रशोधन गर्ने गरेका छन्।

उद्योगले हाल पाउडर दूध र नौनी (बटर) उत्पादन गर्दै आएको छ। गत वर्ष बिक्री नभएकाले उद्योगमा नौनी, घ्यू र धुलो दूध थन्किएको अवस्थासमेत रह्यो।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको चितवन मिल्क उद्योगले विसं २०७५ देखि डेरी र सहकारीको दूध प्रशोधन गर्दै आएको छ। उद्योगले प्रतिलिटर दूध प्रशोधन शुल्क रु ११३ र प्रतिकिलो घ्यूका लागि रु ५५ लिँदै आएको छ।

विसं २०६४ मा स्थापना भएको उद्योग २०७२ को भूकम्पपछि बन्द भएको थियो। त्यसअघि उद्योगले आफैं दूध खरिद गरी प्रशोधन र बजार वितरण गर्ने काम गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्